काठमाडौं, साउन ५ । बारामा एकै पटक ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना संक्रमणको दर कम भइरहेको दावी गर्दैगर्दा बारामा एकै जिल्लामा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
नारायाणी अस्पतालको प्रयोगशालामा ७१ जनाको कोरोना परीक्षण गर्दा ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको र ती सबै बाराका रहेको अस्पतालका निर्देशक डाक्टर मदन उपाध्यायले खबरहबलाई बताए।
अस्पतालका निर्देशक डा.उपाध्यायका अनुसार संक्रमण पुष्टि भएकाहरु सुवर्ण गाउँपालिकाका र देवलात गाउँपालिकामा रहेका व्यक्तिहरु हुन्।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्र प्रसाद पण्डितका अनुसार नयाँ थपिएका संक्रमितमध्ये ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, ५ जना गाउँपालिकाका कर्मचारी र अन्य स्वास्थ्यकर्मीका परिवारका सदस्यहरु सहित ४६ जना छन्।
ती मध्ये ११ जना महिला र ३५ जना पुरुष रहेको प्रजिअ पण्डितले बताए।
‘देवताल गाउँपालिकाले आफ्नो कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्यकर्मी लगायतका व्यक्तिहरुको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो,’ प्रजिअ पण्डितले खबरहबसँग भने, ‘ती मध्ये ९ जना जनप्रतिनिधि, १६ जना स्वास्थ्यकर्मी, अन्य कर्मचारी ५ जना सहित ४६ जना छन्।’


























