गुल्मी, साउन ३ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले पार्टीभित्र विद्रोह हुन्छ र दुर्घटना हुन्छ भन्ने कुरा कल्पना मात्र भएको बताएकाछन्।
यदि कसैले नेकपा फुट्छ भनेर सोचेको भए पनि त्यो गलत हुने दाबी गरेकाछन्। उनले नेकपाको एकता देशको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरामा जोडिएको बताइ। यिनै जनादेश पूरा गर्न वर्तमान सरकार सक्षम रहेको भन्दै अहिले सरकार परिवर्तनको कुनै औचित्य नरहेको दाबी गरे।
गुल्मीमा कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रणको लागि शनिबार सदरमुकाम तम्घासमा रेसुङ्गा नगरपालिकालाई पीसीआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्र मन्त्री ज्ञवालीले यस्तो बताएकाहुन्। पार्टीमा देखिएको विवादलाई लक्षित गर्दै मन्त्री ज्ञवालीले भाँडाहरु एक ठाउँमा राखेपछि कहिलेकाहीँ बज्ने संज्ञा दिँदै पार्टी जोगाउने जिम्मेवारीबाट कोही पनि पन्छिएर दायाँबायाँ लाग्न नमिल्ने उनको तर्क थियो।
‘नेकपा घरको धुरी खाँबो जस्तो हो, धुरी खाँबो भाँचियो र कमजोर भयो भने खाँबो मात्र भाँचिदैन, त्यो घरकै अस्तित्वमाथि जोखिम उत्पन्न हुन्छ’, ज्ञवालीले भने। उनले नेकपा एकताबद्ध भएर घरभित्रको समस्या समाधान गरी देशको समस्यामा केन्द्रित हुने बताए।
अहिलेको लडाइँ भनेको बेरोजगारी, विदेशबाट फर्किएकाको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने र जनतालाई कसरी सुखी र समृद्धि रहेको बताए।


























