असार २९ । फेसबुक मेसेन्जर तथा ह्वाट्सएप च्याटिङका लागि प्रयोग गरिने सबैभन्दा लोकप्रिय सोसल मिडिया एप हुन्।
फेसबुक कम्पनी मातहत भएतापनि यी दुई एपहरु फरक फरक ढंगले स्वतन्त्र रुपमा सञ्चालन हुने गर्दछन्। तर निकट भविष्यमा फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई जोड्ने योजना बनाएको छ। यसको अर्थ मेसेन्जर र ह्वाट्सएप प्रयोगकर्ताले एक आपसमा च्याट गर्न पाउनेछन्। अर्थात् मेसेन्जरबाट ह्वाट्सएपमा र ह्वाट्सएपबाट मेसेन्जरमा च्याट गर्न पाइनेछ।
फेसबुकले मेसेन्जर र ह्वाट्सएपलाई एकिकृत गर्न लागेको तथ्य हालै लिक भएको एक कोडबाट पत्ता लागेको बताइएको छ।
विज्ञका अनुसार फेसबुकको सर्भिस सेटिंग्समा कन्ट्याक्ट एण्ड च्याट फंक्सन्ससँग सम्बन्धित वेब डाटाहरु लिक भएका छन् जसले निकट भविष्यमा फेसबुकलाई ह्वाट्सएपसँग जोड्न लागिएको तर्फ संकेत गर्दछ।
स्मरण रहोस् फेसबुक सिइओ मार्क जुकरगर्बले केही महिना अगाडि नै फेसबुक, ह्वाट्सएप र इन्स्टाग्रामलाई एक आपसमा जोडिने कुरा बताइसकेका थिए।
विश्वको सबैभन्दा लोकप्रिय मेसेजिङ एपको रुपमा रहेको ह्वाट्सएपलाई मेसेन्जरसँग जोडिएपछि यसको लोकप्रियता र प्रयोगकर्ताको संख्या झनै बढ्ने अनुमान गरिएको छ।
पछिल्लो समय ह्वाट्सएपले विभिन्न नयाँ नयाँ फिचरहरु ल्याइरहेको छ। डार्क मोड फिचरसँगै ग्रुप भिडियो कलिङ फिचर पनि ह्वाट्सएपले उपलब्ध गराइसकेको छ जसमा ८ जनासम्म मानिसहरु एकसाथ ग्रुप भिडियो कल गर्न सक्दछन्।
यसका अलावा ह्वाट्सएपको बिटा अपडेटमा मेसेन्जर रुम्सको शर्टकट पनि राखिएको छ। जसबाट पनि मेसेन्जर र ह्वाट्सएपलाई फेसबुकले जोड्न थालेको बुझ्न सकिन्छ। एजेन्सी


























