डा. सुजाता पन्त,
बिहानै गाउँको चिया पसलमा भएको केही मान्छेहरुको जमातबीच केही प्रश्न र उत्तरहरु सुनिन्छन्। ‘ए काका थाहा पाउनुभयो पल्लो गाउँकी कान्छीमायाको जवान छोरी त झुण्डेर मरिछे नि शहरमा।’ अर्को टेबुलमा एक बुढा बा भन्छन्, ‘खै कुन चाहिँसँग के–के लसपस थियो, मुख देखाउन लाज नहुने काम के–के गरेकी थिई? अब इज्जत जोगाउन आत्महत्या नगरेर के गरोस् त बिचरीले?’ त्यसैमा भरखरका अर्का एकजना दाइले थप्छन्, ‘काका त्यस्तो हैन, बिचरा त्यो बैनी सहरमा पढ्न बसेकी एउटा फाइनान्समा काम गर्थी। अनि मास्टर पढ्थी बिचरीको काम ठप्पै भ’को तीन महिना भएछ। घरबेटीले दिनानुदिन भाडा मागिरा’का रै’छन्। सायद त्यसकै छटपटिको कारण आफ्नै कोठामा झुण्डेर मरिन् बिचरा। गाउँमा बा आमाको पनि निकै दयनीय अवस्था सायद समस्या समाधानको उपाय केही देखिन उस्ले।’
यो त एउटा प्रतिनिधि घटना मात्रै हो। अचेल हरेक दिन कैयौं समाचार आइरहन्छन्, कतै झुण्डेर, कतै बिष सेवन गरेर त कतै डुबेर कैयौं मानिसहरुले अकालमै ज्यान गुमाइरहेका छन्। पछिल्लो समय यो भयाभह स्थिति झन् झन् बढ्दै गइरहेको छ।
म पेसाले एउटा डाक्टर, सरकारी अस्पतालमा काम गर्ने डाक्टर। एउटा बिरामीलाई रोगबाट निको पार्न अनि एउटा ज्यान बचाउन आफ्नो भोक निन्द्रा घर परिवार समय सबै–सबै कुरा समर्पण गर्ने मान्छे। मानव एउटा जीवन बाच्नु र बचाउनुको मूल्य सायद हामी चिकित्सक स्वास्थ्यकर्मी बाहेक अरु कस्लाई थाहा होला? अझ यो महामारीको चपेटामा हरेक चुनौतीहरुलाई स्वीकार्दै आफ्नै ज्यानको बाजी राखेर मानवजीवन बचाउनकै लागि लागी पर्ने हामी स्वास्थ्यकर्मी।
हाम्रो लागि सबैभन्दा बिडम्बना हो यो मानिसले दिनदिनै यसरी ज्यान गुमाइरहनु। पहिला बिहानी सबेरै ड्युटीमा निस्किँदा ‘आज मेरो सेवा लिनको लागि आउने सबैलाइ सकेसम्म धेरै सन्चो बनाएर पठाउन सकियोस्, सबैको घाउमा मलम लगाएर पठाउन सकियोस,’ यही कामना गर्दै निस्किन्थेँ। अचेल अर्को पनि कामना गरेर निस्किन थालेको छु, ‘आज कुनै मृत शरीर देख्न नपरोस्, त्यसमाथि पनि ड्युटी छिर्ने बित्तिकै पुलिस हवल्दारको मुचुल्का हातमा नपरोस्। त्यसमाथि पनि आत्महत्याको केश छ डाक्टार साब, टाढाबाट ल्याएको लास छिट्टै उठाउन लाउनुपर्छ। आफन्तहरु रातभरी पानी झरीमा रुझेर मृत शरीर कुरेर बसेका छन्,’ भनेको सुन्दा आफ्नै मुटु चुँडिने गर्छ। ती कुराहरु सुन्नै नपरोस् जस्तो लाग्छ अचेल। बिडम्बना हरेक दिन जे नहोस भन्यो त्यही भइदिन्छ।
१० वर्षको बच्चा देखि ८२ बर्षको वृद्दसम्मको घाँटीमा पासोको डाम भेटिन्छ, आफन्तहरुको रोदन रुवाबासी अनि पेसाले त्यो मृत शरीरको पोस्टमार्टम गर्नै पर्ने मेरो जिम्मेवारी अझ त्योभन्दा पहिलो मेरो जिम्मेवारी त मानव जीवन बचाउनु हो। शारीरिक मात्रै हैन मानसिक रोगको पनि समयमै पहिचान र उपचार गर्न नसकेर नै म दिनानुदिन तीन चारवटा मृत शरीरको शव परीक्षण गर्न विवश छु अचेल। कहिलेकाहीँ आफैँप्रती आत्मग्लानी महसुस हुन्छ, ‘आखिर हामी शारीरिक रोगको उपचार जति सजिलै गर्न सक्छौँ मानसिक रोगको किन गर्न गर्न सकिरहेका छैनौँ? किन हामीले एकदमै धेरै आदर गर्ने सेलेब्रेटीहरुको पनि आत्महत्याका समाचार सुन्न बाध्य छौं, जोसँग पैसा, पावर, प्रेस्टिज सबै छ। आखिर केको कमी छ र मान्छे आत्महत्या गर्न बाध्य छ?’
कुनै दिन जस्ले तपाईँलाई ‘कम्जोर हुनुहुन्न, जीवन यस्तै हो झेल्नुपर्छ’ भनेर सिकाउँथ्यो, उसकै आत्महत्याको समाचार सुन्दा तपाईँको मनमा कति उथल्पुथल हुन्छ होला? डिप्रेसन अर्थात् मानसिक तनाव अचेल हामी सबैले एकदमै धेरै प्रयोग गर्दै आइरहेको शब्द। कुनै दिन मेडिकल विद्यार्थी हुँदा स्वास्थ्यको परिभाषा खुब रटेर आएको थिए। “Health is complete physical mental and social well being and not merely absence of any diseases.” अर्थात् स्वस्थ हुनु भनेको कुनै रोगबिना बाँच्नु मात्र नभई शारीरिक, मानसिक र सामाजिक सबै पक्षबाट राम्रो सबल र सक्षम हुनु हो।
हामीले शारीरिक अवस्थालाई त ख्याल गरेका छौँ? के त्यस्तै मानसिक र सामाजिक पक्षलाई पनि त्यति नै ख्याल गरेका छौँ? के हामी हरेक पल डर त्रास र तनावभित्रको जीवन बाँचेर आफूलाई बाहिर खुसी भएजस्तो गरी कृत्रृम हाँसो देखाएर त जीवन गुजारा गर्न बाध्य छैनौँ? हरेक मानिस बाँच्नको लागि समाज चाहिन्छ, के हामी आफ्नो सामाजिक जीवनबाट सन्तुष्ट छौँ? कि सधैँ इज्जत र प्रतिष्ठा अनि अरुले के सोच्लान् भन्ने त्रासभित्र आफू र आफ्नो महत्त्वलाई बिर्सेका त छैनौँ? के हामी आफ्नो जीवनसँग पूर्णरुपमा सन्तुष्ट खुसी छौँ? जीवनमा बितेका दिनहरु सम्झेर आत्मग्लानी या पश्चाताप त भएको छैन? हामी सबैलाई भन्छौँ सकारात्मक सोच, सब ठीक हुन्छ।
तर, के मानिस हरेक परिस्थितिमा सकारत्मक मात्रै सोच्न सक्छ? अरु मानसिक तनावमा छटपटिएको देख्दा हामी निःशुल्क सल्लाह दिन खुब सिपालु छौँ, भोलि त्यही परिस्थिति आफ्नै जीवनमा आयो भने के हामी अरुलाई भनेजस्तै सकारात्मक तरिकाले जिउन सक्छौँ? यी यावत प्रश्नहरु एकचोटी कतै म आफैँ त डिप्रेशनमा बाचिरहेको छैन? हामीलाई अरुलाई भन्दा पहिला आफूले आफूलाई नै मुल्याङ्कन गरौँ त एकचोटी। हुन सक्छ तनावका कारणहरु धेरै हुन सक्छन्। र, व्यक्तिव्यक्तिबीच फरक हुन सक्छ। जीवन शतप्रतिशत आफूले सोचेजस्तो कहिल्यै पनि हुँदै्रन, उतारचढाव आई नै रहन्छन्।
मानिसका इच्छा र आवश्यकता दुई फरक कुरा हुन्। न्यनतम आवश्यकता प्रायः सबैको एउटै हुन्छ, तर इच्छा फरक हुन सक्छन्। बिहान बाटोमा हेर्ने हो भने दुई थरिका मान्छेहरु दैडिरहेका हुन्छन्, धनि मान्छे हिजो बेलुकाको भात पचाउन, सुगर, प्रेसर नियन्त्रण गर्न भनेर दौडिरहेका हुन्छन् भने गरिब मजदुर बिहान–बेलुकाको चुल्हो बाल्नको लागि दौडिरहेका हुन्छन्। कुनै पनि समय र परिस्थिति भन्ने चिज सापेक्ष कुरा हो। कुनै पार्टीमा सबै चिटिक्क कोट पाइन्ट लाएका मान्छेहरुको बीचमा एउटा कच्याकुचुक्क परेको सर्ट आइरन नलगाई गएको मान्छे पुगेछ र कोहीले सोधेछ, ‘सर तपाईंले आइरन किन नलगाको? सर्ट त कच्याकुचुक्क छ त?’ हाँस्दै जवाफ आउँछ, ‘सर मैले आइरन नलाएर मेरो सर्ट कच्याकुचुक्क देखिएको हैन, उहाँहरुले आइरन लाएर चै यस्तो देखिएको हो।’ त्यसैले प्रकृतिले सबैलाई सबै कुरा दिएको छ, कस्ले कति देखाउँछ या भित्रै सीमित राख्छ दुई फरक पाटाहरु हुन्।
त्यसैले सबैभन्दा ठूलो कुरा त व्यक्ति आफैँ सचेत हुनु जरुरी छ, तनाव व्यवस्थापनको लागि। जीवनको यात्रा अवश्य नै सजिलो छैन, तर त्यसो भन्दैमा अप्ठयारा परिस्थितिहरुमा आत्महत्या मात्रै समाधान पनि पक्कै हैन। भनिन्छ, ‘मानवजीवन प्रकृतिको सुन्दर उपहार हो, मृत्यु एउटा शाश्वत सत्य हो। समय, परिस्थिति, रोग या शोक जेमा भए पनि सबैले एकदिन धर्ती छोड्नु नै छ। दुःख कष्टहरु आइरहन्छन्, घाउचोटहरु लागिरहन्छन्, ठेस र ठक्करहरु लागिरहन्छन्। कहिले भावनाहरु दुख्ने गर्छन् त कहिले माया प्रेम विश्वासघात सबैले जीवन अर्थहीन जस्तै बनाइदिन्छन् र पनि झेल्नैपर्छ जीवन। दुःख पीडाहरुले अझ बलियो बनेर अगाडि बढ्ने साहस दिन्छन्। भनिन्छ, ‘जीवनमा जे हुन्छ, राम्रैका लागि हुन्छ। सफल व्यक्तिहरु हरेक चुनौतीमा अवसर देख्छन् भने असफल व्यक्तिहरु हरेक अवसरमा चुनौती देख्छन्।
यी सबै–सबै कुराहरु लेख्ने मान्छे स्वयम् पनि डिप्रेसनमा हुनसक्छ, त्यसैले कुनै कुरालाई पनि च्याप्पै समातेर सधैँको लागि ‘मेरै हो’ भनेर नबसौँ। समय गतिशील छ, समयसँगै धेरै कुराहरु परिवर्तनशील छन्। त्यसैले जीवन आफू भएर पहिला आफ्नै लागि बाँच्न सिकौँ, तटस्थ भएर बाँच्न सिकौँ, ता कि धेरै पीडामा पनि बिचलित नहोऔँ र धेरै खुसीमा पनि मातिने काम नगरौँ। कुनै कुरा स्थायी छैन जीवनमा, कोही कसैलाइ पनि निश्चितरुपमा लिने काम नगरौँ, धेरै अपेक्षा पनि नराखौँ। जीवनमा तीतामीठा दुवै रसहरु हुन सक्छन्, सबैको आनन्द लिएर बाँचौँ।
आखिर हामी अजम्बरी हैनौँ। यो धर्तीको लागि हामी केही दिनको पाहुना मात्रै हौँ। कसैले नदेखे पनि मुल्याङ्कन नगरे पनि राम्रो काम गरौँ, जीवनको गुणस्तर बढाऔँ, त्यसपछि जीवनशैलीको गुणस्तर त आफैँ बढिहाल्छ। डिप्रेसन सामान्य समस्या हैन, दिनप्रतिदिन जटिल बन्दै जान सक्छ। त्यसैले आफ्ना मन मिल्नेहरुसँग शेयर गरौँ। र, अरुले शेयर गर्दा पनि तटस्थ भएर सुन्ने बानी बसालौँ, निःशुल्क सल्लाह दिन हतार नगरौँ। त्यो पनि सकिन्न भने विभिन्न अस्तपाल तथा स्वास्थ्य संस्थाहरुमा मानसिक रोग विशेषज्ञहरु हुनुहुन्छ, उहाँहरुसँग सल्लाह, सुझाव र परामर्श लिऔँ, एउटा अँध्यारो अध्याय जीवनको अन्त्य हैन।
त्यहीँबाट सिकेका पाठहरुलाई बाँकी दिनहरु उज्यालो बनाउनको लागि सदुपयोग गरौँ। जान अन्जानमा कैयौँ गल्तीहरु हुन सक्छन्, आफूले आफैँलाई माफ गर्न सिकौँ। एउटै गल्ती नदोहोर्याऔँ। र, अरुलाई पनि माफ गर्न सिकौँ। हामी सबैले शान्तपूर्वक सद्भाव आपसी प्रेम र मेलमिलापमा जीवन बिताउन सकौँ। डिप्रेसनबाट आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ। तपाईंले आज बाँचिरहनु भएको जीवन कुनै अर्को मान्छेले देखेको सपनाको जीवन पनि हुन सक्छ।
(लेखक हेटौंडा अस्पतालमा कार्यरत छिन्।)
























