बोल्न मन थिएन। तर पनि पछिल्लो समयमा केही व्यक्तिहरुले मेरै नाम लिएर गर्नुभएको भद्धा टिप्पणीको जवाफ नदिई बस्न मन मानेन। म हिजो पनि आज पनि र भोलि पनि निष्ठा, इमान्दारिता, विपीको बिचार र सिद्धान्तमा विश्वास गर्ने मान्छे हुँ। सामाजिक क्षेत्रमा मौलाएको विकृतिमात्र होइन राजनीतिमा मौलाएको व्यतिथिका विरुद्ध चालिएको मेरो यो कदमलाई कुनै पनि शक्तिले विचलित बनाउन सक्दैन।
कसैको स्वार्थ पूरा गर्नमा म मेरो स्वाभिमान गिराउन चाहन्न। मलाई मेरो सामाजिक जिम्मेवारी वहन गर्न राम्रोसँग आउँछ। विगत ३० वर्षदेखि महिलामाथिको हिंसा शोषण, अन्याय र अत्याचारको विरुद्धमा लडिरहेकी पनि छु। मानिसको मानवीय सोच र बिचारमा परिवर्तन गराउन आज पनि हरकदम मेरो पाइला अगाडि बढिरहन्छन्। अरुका लागि राजनीति पेशा होला, मेरा लागि सेवा हो।
महिलामाथिको यावत समस्यालाई सम्बोधन गर्न राजनीतिक प्रतिबद्धतासहितको सामाजिक रुपान्तरण हामीले चाहेका हौँ। हो, म आज पनि दिनहुँ घरेलु हिंसाबाट प्रताडित, जबरजस्तीकरणको शिकार बनेका र बेचिएका चेलीको आँसु पुछ्न तल्लीन हुन्छु। राज्यको जिम्मेवारीलाई हामीले सहयोग गर्नमात्र खोज्यौँ। तर आजसम्म दीर्घकालीन पुनर्स्थापना गृह सञ्चालनमा न त राज्य बोल्यो न त महानगर नै।
ए हजुर तपाईंले मलाई संस्था चलाउन कति बजेट दिनुभएको छ? घरेलु हिंसा, अनाथ, बेचिएका, बलत्कारमा परेका, द्वन्द्वकालमा हिंसामा परेका महिलाका लागि तपाईंले अहिलेसम्म के गर्नुभयो? तपाईंको बजेटले ती महिलालाई कहाँनेर छोयो? चितवनमा श्रृङ्खलावद्धरुपमा महिलामाथि बलत्कार, हत्या र चरम हिंसा हुँदा तपाईं कुन कुनामा हुनुहुन्थ्यो?
करणीबाट बच्चा जन्माएर अलपत्र परेकी बालिकाको सुरक्षा र संरक्षणमा तपाईंको ध्यान गयो कि गएन? राज्यको काम सामाजिक क्षेत्रबाट हामीले गरेका छौँ। गर्व पनि गर्छु। थोरै भए पनि व्यक्तिगत सहयोग जुटाएर परिवार साथीभाइको जन्मदिन र विवाह उत्सवको दिन पारेर खाना खुवाएर अनि आफ्नै परिवारका सदस्यबाट मासिक भाडा तिर्न लगाएर भए पनि काम गरेका छौँ। त्यसैले बोल्नुभन्दा अगाडि आफ्नै हैसियत बिर्सेर प्रश्न नतेसार्नुस्।
तपाईंले त हामीले तिरेको करबाट मैले बाटो बनाएँ भनेर चौडा छाती फुलाएर भन्दै हिँड्नुहुन्छ। म त आफ्नै बाबुले कमाएर राखिदिनुभएको पैसा खर्च गरेर महिलाको अधिकार संरक्षणमा जुटेकी छु। त्यसैले मलाई मेरो गुरुदेवको दिक्षा सम्झाउनुभन्दा पहिले आफूले त्यो शिक्षालाई मनन गर्नुहोला, ताकि तपाईंले बोलेको कुरा जेठ १ गतेपछि तपाईंलाई नै भारी नपरोस्।


























