हेटौंडा । सिुन्धपाल्चोकमा बुधबार राति आएको बाढी पहिरोबाट ठूलो धनजनको क्षति भएको अनुमान गरिए पनि एकिन विवरण अझै आउन बाँकी छ। बाढी र पहिरोमा परी तीन जनाले ज्यान गुमाएका छन् भने २० जना बेपत्ता छन्। बाह्रबिसे नगरपालिका ५ जम्बुमा स्थानीय याल्मो ठाडो खोलाले ३६ घरटहरो बगाएको छ। केही सवारीसाधनसमेत बगाएको छ। उक्त घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको वागमती प्रदेश चासो देखाएको छ।
नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गरी बाढी पहिरोबाट भएको क्षतिबारे दुःख व्यक्त गर्दै सरकारको ध्यानकर्षण गराएका हुन्। ‘भोटेकोशीसँगै वरपरका खोलामा आएको बाढीले बाह्रबिसे नगरपालिकामा क्षति पुर्याएको छ। विपदको यस घडीमा यथाशीघ्र उद्धारको काम अघि बढाउन नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दल प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ,’ विज्ञप्तिमा भनिएको छ। त्यस्तै स्थानीय प्रशासनको समन्वयमा नेपाली कांग्रेसका नेता कार्यकर्तालाई उद्धारमा खटिन पनि संसदीय दलको कार्यालयले आग्रह गरेको छ।
३ मन्त्री हेलिकप्टरमा
वागमती प्रदेशका ३ जना मन्त्रीले बिहीबार सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन्। प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलालले हेलिकप्टरमार्फत बाढी पहिरोको अवलोकन गरेका हुन्। उनीहरु बाह्रबिसे नगरपालिकाको जम्बु क्षेत्र र भोटेकोशी गाउँपालिकामा गएको पहिरोको कारण भएको क्षतिबारे जानकारी लिन र घाइतेहरुको उद्धारका लागि हेटौँडाबाट सिन्धुपाल्चोक प्रस्थान गरेका थिए।


























