चल्नुपर्ने र रुचाइनुपर्ने सिनेमा यो हो। तर हामी कबड्डीजस्ता ४/४ पटकसम्म उही कथा, उही शैली, उही सिमिततामा बनेको सिनेमा हेरिदिन्छौं। आज दोस्रो दिनको शो हेरिरहँदा हल आधाभन्दा बढी खाली देख्दा खल्लो लाग्यो। कबड्डी हेरेर धेरथोर मनोरञ्जन लिन सकिन्छ। तर ‘चिसो मान्छे’जस्तो सिनेमा हेर्नैपर्छ। हेर्न नछुटाउनु होला।
हुन त यो कुरा निर्माता मण्डललाई पनि पक्का थाहा छ। यस्ता सिनेमा चल्दैनन्। तर एउटा राम्रो निर्देशकले सिनेमा “चल्नेछ” भन्ने विषयलाई मात्र हेर्दैनन्। त्यस्तै निर्देशक हुन् दीपेन्द्रकुमार खनाल।
निर्देशकको सबैभन्दा राम्रो लागेको कुरा हो “समाज परिवर्तन”को नारा कतै नदेखिनु। समाजको चित्रण चाहिँ देखियो। म सिनेमाहरूमा यही चाहन्छु। प्रस्तुति बोकोस्, परिवर्तनको भार नलादोस्। समाजले बदलाव आफैँ महशुस गर्छ र आफ्नै गतिमा आफैँ बदलिन्छ।
करिब-करिब उस्तै-उस्तै पीडा भोगेका दुई प्राणीलाई एकार्काप्रति आकर्षित गराएर मिलन नगराई कथालाई टुङ्ग्याउनु सिनेमाको सबैभन्दा राम्रो र बलियो भाग हो। जस्तो कि असमन्जसताको बीचमा छोइन छोइन लागेका हातहरू नछोइकन अर्को दृश्य आउनु। यो दृश्य हेरिरहँदा मैले “यी नछोइएरै कथा अगाडि बढोस्” भन्ने माग गरेको थिएँ। ठ्याक्कै त्यस्तै भयो। निर्देशकसँग म ‘कनेक्ट’ भएछु भन्ने भान भयो।
यस्तै कुनै टुङ्गोमा नपुगेका स-साना कथाहरू अरू पनि छन् सिनेमामा। कथा भन्ने यो आधुनिक शैली हो। कथाले निष्कर्ष दिने होइन। निष्कर्षको जिम्मा पाठक वा दर्शकलाई छोडिदिने हो। मैले कतै पढेको थिएँ। उपन्यासको अन्तिममा एउटा (केही?) पाना खाली राखिन्छ। त्यो भनेको कथाको बाँकी भाग पाठकले आफैँ लेखोस् भन्नका लागि हो। सिनेमा हेर्नेहरूले कथा अधुरो देख्दा अर्को भाग पनि आउँछ की भन्ने भान पर्न सक्छ। तर म चाहन्छु यो यति मै रोकियोस्। अर्को भाग नआओस्।
स्वस्तिमाको विषयमा मैले खासै धेरै बोलिनँ। उनको चर्चा सिनेमा प्रदर्शनमा आउनु अगावैदेखि चुलिएको हो। सर्वत्र चर्चा भएको विषयलाई मेरो थप प्रष्टिकरण जरूरी छैन। उनी यो सिनेमाको खम्बा हुन्। उनको ठाउँमा अरु कोही भएको भए कथालाई यत्तिको न्याय पुग्ने थिएन होला सायद।
लास चिसो, समाज चिसो, समाजका मान्छे चिसा। कथा चिसो, कथाको प्लट चिसो। “आफ्नो मात्र सफ्ठेरो हेरेर हुन्न नि दाइ!” चलचित्रको मुख्य पात्र अशोककी बहिनीको यो वाक्यले भन्छ नायक पनि चिसो। समग्रमा शीर्षकलाई सार्थक बनाउन निर्देशक पूर्णतया सफल छन्।
सिनेमाको मध्यान्तरमा केही दर्शकहरू एकापसमा कुरा गरेको सुनेँ, “भाषा नबुझेर तनाव भयो।” हामीले जसोतसो बुझ्यौँ। नबुझेको ठाउँमा संवादको आशय अनुमान गरेर पनि बुझियो। हामीले कुरा गर्यौं – “नेपालीमा क्याप्सन राखिदिएको भए राम्रै हुने थियो।”
सिनेमा हेर्न जानुभन्दा अगाडि मैले सुनेको थिएँ, ‘कताकता बलिउड सिनेमा हाइवेको प्रस्तुतिसँग मिल्दोजुल्दो छ।’ त्यो मिल्यो मिलेन म भन्न सक्दिनँ। तर कलाकारहरू उस्तै-उस्तै लागेका हुन् कि!? आलिया भाटको जस्तै कद काठी भएकी स्वस्तिमा। कताकता रणदीप हुड्डा जस्तै लाग्ने अर्पण थापा। अनि प्लटमा पूरै ‘हाइवे’।
अब सदाझैं मैले अपेक्षा गरेको “थोरै बढी”को कुरा गरौँ। यति भनिसक्दा मैले यो सिनेमालाई “राम्रो” सिनेमाको रुपमा वर्गीकरण गरें।
उत्कृष्ट बन्न सक्ने थुप्रै आधारहरू थिए। त्यसैले यसलाई राम्रो भनेर चित्त बुझाएँ। मैले उत्कृष्ट नभन्नको लागि यसको कथा, कथानक, स्कृप्ट, फ्लो, डायलग डेलिबरी, अभिनय वा प्रस्तुतिप्रतिको गुनासो कतै पनि (एकाध ठाउँ छोडेर) छैन। स्कृप्टमा खड्किएको एउटा विशेष कुरा चाहिँ के रह्यो भने – नायकलाई हाकिम बन्नको लागि ‘चाहिनेभन्दा पनि बढी’ अध्ययन गरेको भनेर चित्रण गरिसकेपछि उसले आफ्नो डायरीमा लेखेका कुराहरू (गीत???)लाई सक्दो शुद्ध बनाउनेतर्फ ध्यान दिइनुपर्थ्यो। शुद्धाशुद्धी र व्याकरण चाहिँ त्यहाँ ध्वस्त देख्दा दाँतमा एकदमै किरिङमिरिङ महशुस भयो।
अँ! मैले ‘उत्कृष्ट’ नभन्नुको मुख्य कारण चाहिँ प्रविधिमा केही कम्प्रोमाइज गरिएको हो कि भन्ने विषय हो। इक्वीपमेन्ट अझै राम्रा छनौट गर्न पर्ने थियो कि भन्ने हो। यस्तै गुनासो मलाई उनको ‘आमा’ हेर्ने बेलामा भएको थियो। सिनेमा हेरिरहँदा सबै राम्रो लाग्छ तर कता के पुगेन पुगेनको धङ्धङीले सताइरह्यो। ‘सिनेमाटोग्राफी’ स्वयम् निर्देशकले गरेका रहेछन्। त्यो अझै बलियो बनाउन सकिने ठाउँ थियो कि भन्ने पनि हो।
समग्रमा दीपेन्द्रलाई मैले नेपाली सिनेमाको बलियो खम्बाको रुपमा हेरेको छु। “प्रोडक्सन”मा खर्च गर्नको लागि आगामी दिनमा निर्मातालाई रिझाउन सक्नुहोओस् भन्ने शुभकामनासहित चिसो मान्छेको लागि हार्दिक बधाई।