आफू निर्वाचित भएपछि मतगणना स्थलबाटै रेणु दाहालले भनिन्, “स्थानीय तह रा’न्ती गर्ने ठाउँ होइन। विकास गर्ने ठाउँ हो। जसले हामीलाई विकास गर्न नदिने र यहाँ रा’न्ती गर्ने काम गर्छ, त्यसले आफ्नो क्षति बेहोर्नुपर्ने छ।” शब्द अलिकति दायाँबायाँ हुन सक्छन् ,सार यही हो। सुनिँदा राम्रै लाग्ने यो कथनभित्र जनप्रतिनिधि अप्रश्नेय हुनुपर्छ भन्ने आशय देखिन्छ। राज्यसत्ताको मूलधारमा प्रवेश गर्नुअघि आफूहरूले गरेको रा’न्ती(राजनीति) थियो कि शत्रुपक्षले सुरुदेखि नै आरोप गरेजस्तो आतंकवादी क्रियाकलाप थियो? यसको आफूअनुकुल होइन, राजनीतिक विवेक र नैतिकताअनुरुपको जवाफ हुनुपर्छ रेणुजीसँग। या यसो भन्ने अरु कुनै पनि सत्ताधारी माओवादीसँग।
‘स्थानीय तह रा’न्ती गर्ने ठाउँ होइन भनिरहँदा स्थानीय तह नै अहिले स्थानीय ‘विकास’को कार्यान्वयन गर्ने प्राधिकार प्राप्त अवयब हो भन्ने सत्यबाट आत्मसात नगर्न मिल्दैन। यो सत्यलाई इन्कार गर्नु बदमासी हो, कथित ‘विकास’का नाममा जनतालाई हिप्नोटाइज गरेर प्रश्नशून्य भएरै बस भन्ने धुर्तता हो। हामीले देखिसकेका छौं, यही ‘विकास’ नामधारी भाष्य बेचेर कसरी स्थानीय जनप्रतिनिधिले गरेका स्रोत दोहन, लक्षित वर्गलाई आँखामा छारो हाल्ने ‘विकास’ देखाएर ठेकेदार विचौलिया पोस्ने र जनप्रतिनिधिलगायत तिनका पार्टी, कार्यकर्ता र आसेपासे पोस्ने क्रोनी क्यापिटलिज्म (सत्ताधारी राजनीतिक दल र व्यापारी/दलालहरूको आपसी हितमा मौलाउने पुँजीवाद)को बेरोकटोक अभ्यास भए!
भरतपुरमा ‘विकास’को साइड इफेक्टस्वरूप स्रोतहरूको अवैध दोहन र जमिनको खण्डीकरण गरेर भूमी कारोबारको अत्यधिक विस्तार अहिले हाम्रा नाङ्गा आँखाले देखिने तथ्य मात्रै हुन्। यहाँ, कृषि र पशुपन्छी क्षेत्रमा विष-व्यापारीहरूको खुला रजगज र त्यस क्षेत्रमा स्थानीय सरकारको कुनै किसिमको पनि हस्तक्षेप नदेखिएको स्थिति त कसैले हिसाबकिताब राखेकै छैन। स्थानीय सरकार अप्रश्नेय हुन सक्दैन। भरतपुर मात्र होइन कहीँको पनि स्थानीय तह आफ्ना एक/एक गतिविधिमा, एक/एक योजना र कार्यान्वयनमा पारदर्शी र जवाफदेही हुन सक्दैनन् भने हरेक पालिकाभित्र वा बाहिरको सचेत तप्काले आफ्नो/आफ्नो विवेकको राजनीति गर्छ, गर्नैपर्छ।
अहिले सत्ता साझेदार वा विपक्षी दलले प्रश्नको राजनीति गर्ने हुति र हैसियत दुबै राख्दैनन् भन्ने प्रष्टै छ। यी सबैलाई निरन्तर ‘निरपेक्ष विकास’को सूत्र अहिले यस्तो अचुक बाण बनेको छ, जसबाट आमजनतामाथी भ्रम छर्दै यता पार्टी-दलाल-आसेपासे सबै पोसेर फ्रीको लोकप्रियतासमेत बटुल्ने सुविधा प्राप्त हुन्छ। यसको चक्रीय लाभ/लाभांस सबैलाई प्राप्त छ। ‘विकास’को यही तीन धार वाला बाणले सत्ता र त्यसको वरपरकालाई मात्रै होइन विपक्षलाई समेत रिझाउने भएपछि कोही किन बोल्छ, किन रा’न्ती गर्छ? पछिल्लो ५ वर्षभर यही भैरहेको हो।
भरतपुरमा विपक्षी नेकपा (एमाले)भित्र स्थानीय सरकारसँग नीति, कार्यक्रम, योजना कुनै पनि विषयमा प्रश्नको राजनीति गर्ने हैसियत रत्तिभर नदेखिएको त्यसै होइन भन्ने सबैले बुझिसकेका छन्। गठबन्धनभित्रकै साना दलले त चुप लागेरै ‘ठूलो सहयोग’ गरेकै छन्, गर्नेछन्। बाहिरका अन्य दलहरूले पनि त्यस्तो राजनीति गर्ने ह्याउ राख्ने देखिन्न। त्यही देखेर हुनुपर्छ, रेणु दाहालले यहाँ रा’न्ती नगर्न सबैलाई सावधान गराएकी छिन्। रा’न्ती गर्न नपाइने यो चेतावनी प्रश्नको निषेध गर्ने, आफूहरूलाई मैदानको खुला साँढे बन्न दिनुपर्ने पेलानको अभिव्यक्ति हो। उसमाथि, सत्ता संरचक घटकको सबभन्दा शक्तिशाली व्यक्तिको परिवार, कुनै पनि बेला माथि मिल्न र जोडिन सक्ने सम्भावनाको बीचमा डराई-डराई ‘माथिको भय’ पालेर बस्नुपर्ने स्थिति।
त्यसैले भरतपुरमा दलसँग जोडिएको कोही बोल्दैन। त्यसको असीमित सुविधा रेणु र माओवादीलाई निरन्तर प्राप्त छ। निश्चित हो, पहिलेजस्तै,भरतपुरको पत्रकार र बुद्धिजीवी वर्गको ठूलो वर्चस्वशाली हिस्सा यसपटक पनि मौनव्रत बस्ने छ। किनभने उसलाई मौन बस्दा फाइदा छ। यो तप्काले यही गर्दै आएको छ। अधिकांश पत्रकार दलसम्बद्ध छन्। बुद्धिजीवी भन्नेहरू पनि दलका डुँडमा बाँधिएका छन्। त्यसो हुँदा धेरैले सम्बद्ध दलको कथित ‘अनुशासनमा बस्न’ पनि चुप लागेर सत्ताको ‘रा’न्ती नगर्ने’ चेतावनी follow गर्नेछन्।
दलभित्रैका कतिपय लेखक, कविहरूलाई महानगरीय एकेडेमीका छातामा बसेर दुई/चारपल्ट भत्ता थाप्न पाउने भएपछि नुनको सोझो गर्नैपर्ने छ। यस कोटीका लेखकको र्याल-सिंगानको कहानी नै भिन्दै छ। तब यहाँ सत्ताले नगर्न चेतावनी दिएको ‘रा’न्ती’ कसले गर्ला? जनप्रतिनिधिमाथि, स्रोत परिचालनमा तिनका लुब्ध गतिविधि र चलायमान ”क्यापिटल’को सन्जालमाथि प्रश्न कसले सोध्ला? यिनका क्रियाकलापहरूको जवाफदेहिता कसले खोज्ला? साँच्चै, स्थानीय तहमा राजनीति गर्ने हस्तक्षेपकारी चेत आवश्यक नपर्ने हो?
स्थानीय सरकार आमजनको छालाको आँखाले नदेखिने भ्रष्टाचारको भयावह मेसिनरी चलाउने गरी निरपेक्ष विकासको खेतीपाती गरिरहने र तपाईं हामी त्यही विकासका निरपेक्ष उपभोक्ता भएर बस्ने हो?
यो प्रश्न तपाईं सबैलाई।


























