सामर्थ्य भनेको व्यक्तिमा निहीत त्यो उर्जा, क्षमता तथा शक्ति हो, जसले केही क्रियाकलाप गर्न, गराउन तथा अरुमा प्रभाव जमाउन सक्छ। हामीले बचपनदेखि सुन्दै आएको सामर्थ्य शब्द सुन्दा सामान्य लागे पनि यो एक जिन्दगी हो। व्यक्ति जन्मिएपछि उसको प्राण रहुन्जेल उसमा शक्ति तथा सामर्थ्य हुन्छ। हरेक पल हामी शक्तिसँग खेलिरहेका हुन्छौँ।
देख्दा सामान्य लाग्ने यो शब्द आफैँमा एक जटिल शब्द पनि हो। हाम्रो हिँडाई, सोचाई, भोगाई सबै शक्ति हो। यो सम्पूर्ण ब्रम्हाण्डको शक्ति नै सामर्थ्य हो। हामीसँग सामर्थ्य त छ। तर हामीले त्यसलाई आफ्ना क्रियाकलापमा कत्तिको प्रयोग गरिरहेका छौँ भन्ने कुराले विशेष महत्त्व राख्ने गर्दछ। हामी जुन तहको कार्यम्पादन गरिरहेका छौँ, सोही तहको शक्ति सामर्थ्यमा छौँ भनेर बुझ्दा पनि हुन्छ। यो प्रतिस्पर्धात्मक बजारमा हामी प्रतिस्पर्धाको लागि त्यो प्रतिस्पर्धात्मक क्षमता विकाश गर्न सकेका छौँ कि छैनौँ? यदि हामी प्रतिस्पर्धामा अब्बल रहन गयौँ भने पक्कै पनि शक्तिको उच्च तहमा पुगेको हुनेछौँ।
हामी सबैमा शक्तिको त्यो उच्च तहमा पुग्ने चाहना त हुन्छ। तर त्यो तहमा पुग्नको लागि आफूमा क्षमता कत्तिको विकास गर्न सक्यौँ, त्यसले महत्त्वपूर्ण भूमिका खेल्दछ। हामी सबै शक्ति सामर्थ्यमा रहन मन त लाग्छ। तर हामी किन अति तल्लो तहमा छौँ? त्यो विषयमा सोच्नु जरुरी छ। सोच्नुस् त एकपटक, विश्वमा शासन गर्ने नेताहरु जस्तैः जो वाइडेन, सी जिङ्ग पिङ्ग, भ्लादिमिर पुटिन तथा नेपाली नेताहरु केपी शर्मा ओली, पुष्पकमल दाहाल, शेरबहादुर देउवा आदि शासक तथा विश्वका अर्बपतिहरु जस्तै बिल गेट्स, जेफ बेसोज, विनोद चौधरी आदि तथा विश्वका वैज्ञानिकहरु।
उनीहरु किन यति धेरै शक्ति सामर्थ्यमा छन् र हामी किन यो अवस्थामा छौँ? कारण एउटै छ, समय व्यवस्थापनमा भएको कमजोरी। हामीसँग भएको समय र उनीहरुसँग भएको समय एउटै हो। तर पनि उनीहरुले प्रयोग गरेको समय र हामीले प्रयोग गरिरहेको समयमा भएको फरक नै यसको मुख्य कारण हो। हामीले पाउने सामर्थ्यलाई हामीले राम्रोसँग चिन्न नसक्दा पनि हामी धेरै कुराहरुबाट पछि परिरहेका छौँ।
व्यक्तिले गर्ने हरेक क्रियाकलापलाई उसको समयले धेरै प्रभाव पारेको हुन्छ। त्यसैले पनि समय व्यवस्थापन शक्ति सामर्थ्यको एक पुल हो भनेर बुझ्न सकिन्छ।

























