मत्यृपछिको अङ्गदान, मृत्युपछि शरीर डढेर वा गलेर जान्छ। त्यसैले मरणोपरान्त अङ्गदान गर्दा कसैको जीवन बाँच्न सक्छ। नेपालमा १८ वर्षभन्दा माथिका व्यक्तिहरुले अंगदान गर्न पाउने प्रावधान छ। मानव अङ्ग प्रत्यारोपण ऐन-२०५३ मा यस सम्बन्धी व्यवस्था छ।
सवारी दुर्घटना वा अन्य कुनै कारणले मष्तिस्क मृत्यु भएका व्यक्तिहरुबाट मिर्गौला, फोक्सो कलेजो, मुटु, पाचन शैली, सानो आन्द्राजस्ता महत्त्वपूर्ण अङ्गहरु झिकेर २४ घण्टाभित्र अर्को व्यक्तिमा प्रत्यारोपण गर्न सकिन्छ। एक जना व्यक्तिले गरेको अङ्गदानले ६ जना जति व्यक्तिहरुको जीवन बाँच्न सक्छ।
तर सूचना र चेतनाको अभावले अधिकांश व्यक्तिहरुमा अङ्गदान सम्बन्धी भ्रम छ। धार्मिक संस्कारअन्तर्गत राम्रोसँग सत्गर्श नगरिदिँदा पितृ दोष लाग्छ भन्ने चलनले गर्दा पनि अधिकांश व्यक्तिहरु अङ्गदान गर्नेबाट भागिरहेको पाइन्छ। चिकित्सकका अनुसार नेपालमा वार्षिक ३ हजार जनाको मष्तिस्क मृत्यु हुने गरेको पाइएको छ।
यदि ठूलो संख्यामा अङ्गदान गरेको खण्डमा आवश्यक पर्ने अङ्गको अभाव हुँदैन। हालसम्म नेपालमा ७४४ मिर्गौला प्रत्यारोपण भएकोमा ६ जना मष्तिस्क मृत्यु भएका व्यक्तिहरुबाट निकालिएको हो। यसै गरी ४ जनाले कलेजो प्रत्यारोपण गरेका छन्, जसमा १ जना मष्तिस्क मृत्यु भएका व्यक्तिले गरेको कलेजो प्रत्यारोपण भएको थियो।
अङ्गदान कसरी गर्न सकिन्छ ?
१) अङ्गदान गर्न इच्छुक व्यक्तिले अङ्ग प्रत्यारोपण सम्बन्धी अस्पतालमा गएर मन्जुरीनामा दिनुपर्दछ।
२) आँखाको नानी दान गर्न तिलगंगा आँखा अस्पतालमा गएर फारम भर्नुपर्दछ।
३) अन्य अङ्गदान गर्नको लागि धर्मभक्त प्रत्यारोपण केन्द्रमा फारम भर्नुपर्दछ वा केन्द्रको वेवसाइटमा पनि अनलाइनबाट भाराम भर्न सकिन्छ।
हामीले गरेको अङ्गदानले अरु धेरै जनाको जीवन बचाउन सकिन्छ। जसरी रक्तदान जीवन दान भनेर हामीले बुझेका छौँ त्योभन्दा राम्रोसँग अङ्गदान नै जीवन दान हो भनेर बुझ्नु र बुझाउनु जरुरी छ। मृत्यु पश्चात नष्ट भएर जाने अङ्गको प्रयोगले गर्दा अर्को व्यक्तिले नयाँ जिन्दगी पाउन सक्छ। त्यसैले रक्तदान जीवन दान भनेजस्तै अङ्गदान जीवन दान हो भनेर बुझ्नुपर्ने बेला भएको छ।

























