असार २४ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ।
मंगलबार राति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड, क्रिस्टियन पुलिसिच र टामी अब्राहमले एक एक गोल गरे।
क्रिस्टलका विल्फ्रेड जाहा र क्रिस्टियन बेन्टेकेले एक एक गोल फर्काए।
चेल्सको छैटौं मिनेटमा जेरुडको गोलबाट चेल्सीले अग्रता बनाएको थियो । विलियनको पासमा जेरुडले सहज गोल गरे।
खेलको २७ औं मिनेटमा पुलिसिचले गोल गर्दा चेल्सीको अग्रता २-० को बन्यो। उनले पनि विलियनको पासलाई सदुपयोग गरे।
तर, ३४ औं मिनेटमा जाहाले पेनाल्टी बक्स भन्दा बाहिरबाट उत्कृष्ट गोल गर्दा पहिलो हाफमा चेल्सी २-१ ले अघि रह्यो।
खेलको ७१ औं मिनेटमा अब्राहमले गोल गर्दै चेल्सीलाई ३(१ को अग्रता दिलाए। मैदान प्रवेश गरेको पाँच मिनेटपछि नै रुबेनको पासमा उनले पोस्टको जाली चुमाए।
त्यसपछि खेलको ७२ औं क्रिस्टलका बेन्टेकेले एक गोल फर्काए पनि चेल्सी ३-२ गोल अन्तरले बिजयी भयो। बेन्टेकेले २ वर्षपछि प्रिमियर लिगमा गोल गरेका हुन्।
यस्तै खेलको इन्जुरी समयमा क्रिस्टल अभागी साबित भयो । क्रिस्टलका स्कट डानको हेड प्रहार पोस्टमा लागेर फर्किएपछि क्रिस्टल बराबरी गर्न चुकेको थियो।
जितसँगै चेल्सी लिगको तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीले लेष्टर सिटीलाई २ अंकले पछि पार्दै चेल्सी शीर्ष तीनमा उक्लिएको हो।
चेल्सीले ३४ खेलबाट ६० अंक जोडेको छ। एक खेल कम खेलेको लेष्टर ५८ अंक रहेको छ।
पराजित क्रिस्टल ४२ अंक जोडेर १४ औं स्थानमा रहेको छ।
प्रिमियर लिगको अर्को खेलमा वाट्फोर्डले नर्विच सिटीलाई २-१ गोल अन्तरले पराजित गरेको छ। एजेन्सी


























