काठमाडौं, असार १८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक अन्यौलै अन्यौलका बीचमा सुरु भएर बिहीबारका लागि सकिएको छ। स्थायी कमिटी बैठक सुरु भएको केही मिनेटमा नै समापन भएको हो।बैठकमा अध्यक्ष प्रचण्डलगायतका नेताहरू सहभागी भएपनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने सहभागी भएका थिएनन्।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालको तीव्र भेटघाट र दौडादौडले बिहीबार ११ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक ४ बजेर १५ मिनेटमा मात्र शुरु भएको थियो।
बैठकका निर्णयबारे केही समयमा नै जानकारी दिइने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशको निजी सचिवालयले जानकारी दिएको छ।
बैठक सुरु हुनुअघि प्रचण्ड र ओली दुवै जना राष्ट्रपति विद्यादेवी भणडारीलाई भेट्नका लागि पुगेको र राजनीतिक घटनाक्रम पनि अनपेक्षित रूपमा विकास भएकाले बैठक अन्यौलमा पुगेको थियो।
दिउँसो १२ बजे बसेको मन्त्रिपरिषद् बैठकले संसद्को चालु अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, महासचिव विष्णु पौडेल, नेताहरु माधवकुमार नेपाल र वामदेव गौतमले प्रधानमन्त्री ओलीसँग छुट्टै वार्ता गरेका थिए।
यसपछि प्रचण्डले राष्ट्रपतिलाई भेट गर्न शीतल निवास गएकाले स्थायी कमिटी बैठक ढिलो गरी सुरु भएको हो। राष्ट्रपति र प्रचण्डबीच करिब एक घन्टा कुराकानी भएको थियो।
यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले पनि राष्ट्रपति भण्डारीलाई भेट गरी मन्त्रिपरिषद् बैठकबाट संसद्को अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गराएका थिए। राष्ट्रपति भण्डारीले सो सिफारिस अनुसार संसद् अधिवेशन अन्त्य भएको पत्र संसद् मा पठाएकी थिइन्। उनले पठाएको पत्र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले पढेर सांसदहरूलाई जानकारी गराइसकेका छन्।


























