मकवानपुर, असार १४ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले जननेता मदन भण्डारीद्वारा प्रतिपादित ‘जनताको बहुदलीय जनवाद’ (जबज) ले कम्युनिष्ट आन्दोलनलाई युग र माटो सुहाउँदो गरी नयाँ उचाइमा पुर्याएको बताएका छन्।
जननेता भण्डारीको ६९ औँ जन्मजयन्तीका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पौडेलले जबज सिद्धान्तको आलोकमा कम्युनिष्ट आन्दोलन लोकतान्त्रिकीरण भएको उल्लेख छ।
‘आज नेपाल कम्युनिष्ट पार्टी ‘प्रतिस्पर्धा र श्रेष्ठता’ नीतिअनुसार जनताको लोकप्रिय मत प्राप्त करीब दुई तिहाइको सरकारको नेतृत्व गरिरहेको छ। सुखी नेपाली, समृद्ध नेपाल निर्माणको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अथक प्रयत्नरत छ। यसर्थ हिजोका राजनीतिक अधिकार प्राप्तिको आन्दोलनमात्र होइन, आजको निर्माण र समृद्धिको आन्दोलनमा समेत जबजले मार्गदर्शन गरिरहेको छ,’ सन्देशमा भनिएको छ।
सामाजिक न्याय र जनअधिकारका मुद्दाहरुलाई संविधानमा सम्बोधन गरिएको, राजनीतिक स्थिरताको सुनिश्चिता भएको उल्लेख गर्दै सन्देशमा यी सबै जननेता भण्डारीकै विचारको देन भएको उनले जारी गरेको सन्देशमा उल्लेख गरिएको छ। रासस


























