असार १२ । युट्युवले अब टिकटकलाई निशाना बनाउने भएको छ। कम्पनीले बुधबार मोबाइलमा नयाँ फिचर परीक्षण गरिरहेको बताएको छ।
नयाँ फिचरको प्रयोग गरी अब प्रयोगकर्ताहरुले १५ सेकेण्डको मल्टी सेग्मेन्ट भिडियो बनाउन सक्नेछन्। टिकटक र इन्स्टाग्रामको रिल्स दुवैमा १५ सेकेण्डको भिडियो बनाउन सकिन्छ।
युट्युवले बताएअनुसार मोबाइलमा अपलोड फ्लोमा प्रयोगकर्ताहरुले अब ‘कृयट न्यु भिडियो’ को अप्सन देख्न सक्नेछन्। टिकटकमा जस्तै यो नयाँ फिचरमा पनि प्रयोगकर्ताले रातो रेकर्ड बटनमा ट्याप अनि होल्ड गरी क्लिप रेकर्ड गर्न सक्नेछन्।
रेकर्ड बन्द गर्नु परे पुनः सोही रातो रेकर्ड बटन थिँच्नुपर्नेछ। यो प्रक्रिया १५ सेकेण्ड नभएसम्म दोहोरी रहन्छ। रेकर्डिङ सकिएपछि सबै क्लिपहरुलाई समायोजन गरेर युट्युवले एउटा भिडियो तयार पार्दछ।
अर्को शब्दमा भन्नुपर्दा यो टिकटकभन्दा फरक छैन। यसमा १५ सेकेण्डभन्दा लामो समयको भिडियो बनाउन सकिँदैन।
यस अलावा गूगलले उक्त नयाँ फिचरबारे थप केही पनि बताएको छैन। युट्युवले अन्य फिचर तथा कन्ट्रोलहरु जस्तै फिल्टर, इफेक्ट, म्युजिक, एआर वा भिडियो स्पीड परिवर्तन गर्ने बटनहरु बिस्तारै जोड्दै लानेछ।
यीनै फिचरहरुले टिकटकलाई आजको पहिचान दिएको हो। तर टिकटक जसरी नाम कमाउन भिडियोको समय र यसको मल्टी सेग्मेन्ट रेकर्डिङ स्टाइल मात्र पर्याप्त हुनेछैन। युट्युवले प्रतिस्पर्धी कम्पनीको फिचरलाई सिको गरेर काउन्टर गर्न खोजेको यो पहिलोपटक भने होइन।


























