जेष्ठ ३० । शहरी डर्बीमा सेभिल्लाले रियल बेटिसमाथि सहज जित निकालेको छ।
बिहिबार राति घरेलु मैदानमा भएको खेलमा सेभिल्लाले शहर प्रतिद्धन्दी रियल बेटिसमाथि २–० को जित निकालेको हो।
कोरोना भाईरसको महामारीका कारण ला लिगा तीन महिना अबरुद्ध बनेको थियो। करिब तीन महिनापछि बिहिबार सुरु लिगको पहिलो खेलमा सेभिल्लाले महत्वपूर्ण तीन अंक बटुलेको हो।
लुकास ओक्याम्पोसले ५० औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। ६२ औं मिनेटमा फर्नान्डो रेज्सले सेभिल्लाका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे।
ला लिगा कोरोनाको कहरपछि युरोपमा सुरु हुने दोस्रो शीर्ष डिभिजनको लिग फुटबल हो। प्रिमियर लिग फुटबल अर्को हप्ता सुरु हुदैछ। कोरोनाको संक्रमण फैलन नदिन मार्च १० बाट लिग फुटबल रोक्का गरिएको थियो।
जितसगै तेस्रो स्थानको सेभिल्लाले ५० अंक जोडेको छ। उसले दोस्रो स्थानको रियल मड्रिडसंगको दुरी ६ अंकमा पुर्याएको छ।
शीर्ष स्थानको बार्सिलोनाको ५८ अंक छ। बार्सिलोनाले लिगमा रियल मड्रिडसंग २ अंकको अग्रता लिएको छ। लिगमा शनिबार बार्सिलोना र आईतबार रियल मड्रिडले पहिलो पटक आ आफ्नो खेल खेल्नेछन्। एजेन्सी


























