काठमाडौं, असार ७ । कोरोना भाइरसको चपेटासँगै महिला हिंसाका घटना दिनानुदिन बढिरहेको भन्दै प्रतिनिधि सभाका सांसदहरुले सार्वजनिक महत्वको ध्यानाकर्षण प्रस्ताव दर्ता गराएका छन्।
महिलामाथि हुने बलात्कार, हत्या, हिंसाका घटना रोक्नका लागि सरकारले टोलटोलमा निगरानी समूह गठन गर्नुपर्ने भन्दै सांसद डा.डिला संग्रौला, प्रमिला राई र हिरा गुरुङले गृहमन्त्रीलाई ध्यानाकर्षण गराएका हुन्।
उनीहरुले कोरोना महामारीको बेला महिला तथा बालबालिका अझ बढी असुरक्षित बन्नुपरेको औंल्याएका छन्। नेपाली महिलाहरु घर, छिमेकी, कार्यक्षेत्र, विद्यालय, धारा, क्वारेन्टाइन, बजार, रेष्टुुरेन्टलगायत कुनै पनि ठाउँमा सुरक्षित नभएकाले उनीहरुले सरकारलाई ध्यानाकर्षण गराएका छन्।
नेपालको संविधानले महिला तथा बालबालिकाहरु माथि कुनै पनि हिंसाजन्य कार्य गर्न नहुुने र सुरक्षित र सम्मानपूर्वक बाँच्न पाउने अधिकार हनन गर्न नपाइने विषय मौलिक हकमा उल्लेख हुँदा समेत सरकारले यस विषयमा कुनै चासो नदेखाउनु योभन्दा लज्जासपद विषय अरु केही नभएको ध्यानाकर्षण पत्रमा उल्लेख छ।
महिला भएकै कारणले असुरक्षित हुनुपर्ने अवस्था अन्त्य गरी महिलाहरुले सुरक्षित तवरले बाँच्न पाउने अधिकारको सुनिश्चितता हुनुपर्ने उनीहरुको माग छ।
प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार लकडाउनको अवधिमा मात्रै बलात्कारका २ सय ७४ उजुरी परेका छन्। बलात्कार प्रयासका ६२ वटा उजुरी परेका छन्। त्यस्तै बाल यौन दुर्व्यवहारका ३५ वटा उजुरी परेका छन्।




























