काठमाडौं, असार ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालयले वैवाहिक अंगीकृत नागरिकता पाउने समयावधि ७ वर्ष राख्नुपर्ने निर्णय गरेपछि नेपाली कांग्रेसले पनि आफ्नो धारणा तय गर्न बैठक बोलाएको छ।
सभापति शेरबहादुर देउवाले शीर्ष तहका नेता र राज्य व्यवस्था समितिका सदस्यहरु दिलेन्द्रप्रसाद बडु र डिला संग्रौलालाई छलफलमा बोलाएको हो। नेपाली कांग्रेस नागरिकताका हकमा २०६३ सालको अन्तरिम संविधानमा रहेको व्यवस्था नै कायम हुनुपर्ने पक्षमा रहँदै आएको छ। नेपालीसँग वैवाहिक सम्वन्धको हकमा समयावधि तोक्न नहुने पक्षमा नेपाली कांग्रेस छ। तर सांसदहरु बडु र संग्रौला भने व्यक्तिगत रुपमा सात वर्षको पक्षमा छन्।
प्रतिनिधि सभाको राज्य व्यवस्थामा २ वर्षदेखि छलफलमा रहेको विधेयकमा दलहरुका बीच समान धारणा नहुँदा पारित हुन सकेको छैन। समितिमा सत्ता पक्षको बहुमत भएपछि नागरिकताको विषय संवेदशील भएको भन्दै सहमतिको प्रयास हुँदै आएको छ। गत बुधबारदेखि यो विधेयकमाथि पुनः दफावार छलफल सुरु भएको थियो।
सुरुको दिन प्रतिपक्षी नेपाली काग्रेसले पार्टीभित्र छलफल गनुपर्ने भन्दै समय मागेको थियो भने बिहीबार सरकारका तर्फबाट समय मागिएको थियो। समितिले आइतबारसम्म सहमतिका लागि सरकारलाई समय दिएको छ।


























