काठमाडौं, असार ४ । नेपालको दोस्रो संविधान संशोधन विधेयक प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनबाट सर्वसम्मतिबाट पारित भएपछि आजै प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइने भएको छ। विधेयक गत शनिवार प्रतिनिधि सभाबाट पारित भएको थियो भने राष्ट्रिय सभाबाट बिहीबार पारित भएको हो।
विधेयक राष्ट्रपति कार्यालय आईपुगेपछि बिहीबारै प्रमाणित गरेर पठाईने राष्ट्रपतिका स्वकीय सचिव डा भेषराज अधिकारीले जानकारी दिए। ‘हामीले दुवै सभाबाट विधेयक पारित भएलगत्तै आजै प्रमाणिकरण गर्ने तयारी गरेका छौं,’ अधिकारीले नेपाललाईभसँग कुरा गर्दै भने, ‘अध्ययन गर्ने विषय नभएकाले धेरै समय लगाउने पक्षमा छैनौं ।’
सरकारले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रलाई समेटेर नयाँ नक्सा जारी गरेपछि निसान छापमा भएको नक्सा संशोधन गर्न संविधान संशोधनको प्रक्रिया अघि बढाएको थियो। राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण भई राजपत्रमा प्रकाशित भएपछि आधिकारिक रुपमा कालापानी,लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग हुनेछ।


























