काठमाडौं, असार १ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघ सरकारविरुद्ध सडकमा उत्रिएको छ।
सोमबार काठमाडौंको नयाँबानेश्वरमा कोरोना संक्रमण नियन्त्रण गर्न सरकार असक्षम भएको आरोप लगाउँदै नेविसंघले सरकारविरुद्ध प्रदर्शन गरेको हो।
प्रदर्शनका सहभागीहरुले कोरोना रोकथाम र नियन्त्रणमा खर्च भएको भनिएको १० अर्ब कहाँ गयो ? भन्दै प्रश्न गर्दै शतप्रतिशत ‘पीसीआर’ परीक्षणको माग गरेका थिए।
सरकार भ्रष्टाचारमा लिप्त भएको र सरकारकै कार्यशैलीका कारण सर्वसाधारणले दुःख पाएको भन्दै उनीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए।
नेविसंघकी महामन्त्री उर्मिला थपलियाले ‘क्वारेन्टिन’ व्यवस्थापनमा सरकार चुक्दा जनताले ज्यान गुमाउनुपरेको र क्वारेन्टिनमै महिला बलात्कारको सिकार हुन थालेपछि सडकमा उत्रन बाध्य भएको बताइन्।
संगठनले आन्दोलनलाई निरन्तरता दिने जनाएको छ।


























