काठमाडौं, असार १ । कर्णाली प्रदेशमा आज थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले एक विज्ञप्तिमार्फत कर्णाली प्रदेशमा आज थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो। नयाँ थपिएका संक्रमितहरुमा दैलेखका मात्र ९१ जना छन्। त्यस्तै सुर्खेतका १९ जना छन्।
प्रदेश अस्पताल सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरेको परीक्षणमा १ सय ७ जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरेको परीक्षणमा तीन जनामा सङ्क्रमण पुष्टि भएको हो।
नयाँ थपिएका सङ्क्रमितहरू दुई वर्षका बालकदेखि ५४ वर्ष सम्मका पुरुषसम्म छन्। २१ देखि २३ वर्ष उमेर समूहका ५ जना महिला छन्।
योसँगै कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमितको संख्या १ हजार ७७ पुगेको छ। अहिलेसम्म १ सय ५१ जना उपचारपछि निको भएका छन् भने ३ जनाले ज्यान गुमाएका छन्।




























