काठमाडौं, जेष्ठ २७ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संविधान संशोधनका पक्षमा आफूहरू रहेको संसदमा बताएको छ।
हालै कांग्रेस केन्द्रीय कार्यसमितिले संशोधनका पक्षमा समर्थन गर्न संस्थागत निर्णय गरेको उल्लेख गर्दै कांग्रेस सचेतक बालकृष्ण खाँणले संशोधनमा दृढ समर्थन रहेको बताए।
लिम्पियाधुरा, कालापानी, लिपुलेक समावेश गरेको अद्यावधिक नक्सा संविधानको निशान छापमा राख्न सरकारले संविधान संशोधन विधेयक संसदमा दर्ता गरेको थियो।
उक्त विधेयकमाथि प्रतिनिधिसभामा मंगलबार सामान्य छलफल सुरू भएको छ।
उक्त छलफलमा भाग लिँदै कांग्रेस सचेतक खाँणले सुगौली सन्धीअनुसार काली नदी पूर्व नेपालको भूमि रहेको उल्लेख गरे।
‘काली नदी पूर्वका भू(भाग नेपालको हो। कांग्रेसले बारम्बार अडान राखेको छ,’ उनले भने।
संविधानको धारा ९ उपधारा २ सँग सम्बन्धित अनुसूची ३ लाई संशोधन गर्ने विधेयकका पक्षमा आफूहरू रहेको उनले बताए।
खाँणले यसअघि सुशील कोइराला प्रधानमन्त्री हुँदा ५ मे २०१५ मा भारत(चीनबीच लिपुलेक हुँदै व्यापारिक नाका बनाउन गरेको सम्झौतापछि असहमति प्रकट गर्दै दुबै देशलाई नोट पठाइएको पनि बताए।


























