काठमाडौं, जेष्ठ २७ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले वार्ताबाटै सीमा समस्या समाधान हुने बताएका छन्।
मंगलबार प्रतिनिधिसभामा मन्त्रालयगत छलफलमा सांसदले उठाएका प्रश्नमाथि जवाफ दिने क्रममा मन्त्री ज्ञवालीले सीमा समस्या भारतसँग कुटनीतिक वार्ताबाटै समाधान गरिने बताए।
‘हामी छिटो वार्ता गरौं भन्नेमा छौं,’ उनले भने, ‘कुटनीतिक तर्फबाट नै समस्या समाधान हुन्छ। अरू विकल्प बनाइरहेका छैनौं, बनाउन पनि जरूरी छैन।’
उनले काली नदी नै नेपाल-भारत सीमा भएको उल्लेख गरे। ‘काली नदी सीमाना नमान्नुपर्ने कारण छैन,’ उनले भने, ‘ऐतिहासिक तथ्यका आधारमा कुटनीति वार्ता गर्छौं। हाम्रो भूमिमा हाम्रै हक हुन्छ।’
नेपालले लिम्पियाधुरा, कालापानी र लिपुलेक समावेश गरेर नक्सा जारी गरिसकेको छ। संविधानमा रहेको निशान छाप परिवर्तनका लागि सरकारले संविधान संशोधन संसदमा दर्ता गरिसकेको छ।


























