जेष्ठ २० । टिमो वार्नरले बुन्डेसलिगामा यस सिजन मात्र २५ गोल पुर्याएको खेलमा आरबी लाईपेजिगले कोल्नलाई ४–२ ले हराएको छ।
आईतबार भएको खेलमा घरेलु टोली कोल्नबिरुद्ध जित निकाल्दै लाईपेजिग बुन्डेसलिगाको तेस्रो स्थानमा उक्लिएको छ।
दोस्रो हाफमा ७ मिनेटको अन्तरमा दुवै टिमबाट तीन गोल हुँदा वार्नरले समेत गोल गर्न सफल रहे। लिगमा पाँच चरणको खेल बाँकी छँदा लाईपेजिग दोस्रो स्थानको डर्टमण्डभन्दा मात्र दुई अंकले पछाडी छ।
खेलको सातौ मिनेटमा जोन कार्डोबाले गोल गर्दै घरेलु टोली कोल्नलाई अग्रता दिलाए। प्याट्रिक स्किकले २० औं मिनेटमा खेल बराबरीमा ल्याए।
क्रिस्टोफर नेकुन्कुले ३८ औं मिनेटमा पाहुना टोली लाइपजिगलाई २–१ को अग्रता दिलाए। टिमो वार्नरले ५० औ मिनेटमा लाईपेजिगलाई ३–१ को स्थितीमा पुर्याए।
एन्थोनी मोडस्टेले ५५ औ मिनेटमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए । तर ड्यानियल ओलमोले ५८ औं मिनेटमा गोल गर्दै लाईपजिगको जित सुनिश्चित गरेका थिए।
पछिल्लो जितसंगै लाईपेजिगले दोस्रो स्थानको बोरुसिया डर्टमण्डबिरुद्ध दबाब बढाएको छ। डर्टमण्डको ६० अंक हुदाँ लाईपेजिगको ५८ अंक छ। कोल्न ३४ अंक सहित तालिकाको ११ औं स्थानमा छ। एजेन्सी


























