जेष्ठ २० । रियल मड्रिडले स्पेनिस लिगका बाँकी खेल घरेलु मैदान स्यान्टियागो बर्नबेउ रंगशालामा नखेल्ने भएको छ।
क्लबका अध्यक्ष फ्लोरेन्टिनो पेरेजले समाचारको पुष्टि गर्दै रियलले ला लिगाका बाँकी खेल घरेलु मैदान बर्नबेउमा नखेल्ने बताएका हुन्।
स्पेनिस महारथी क्लबले बर्नबेउको स्थानमा अभ्यास मैदान अल्फ्रेडो डी स्टेफानोमा पाहुना टोलीलाई आमन्त्रण गर्नेछ। १३ पटकको युरोपियन च्याम्पियन क्लबले लिगको सुरुवाती दुई खेल घरेलु मैदानमा खेल्न तालिका सार्वजनीक भएको छ।
करिब ६ हजार दर्शक क्षमताको अभ्यास मैदानमा रियलको युथ टिमले खेल्दै आएको छ। अभ्यास मैदानमा फ्लडलाइट सहित बिज्ञापनले बाँकी स्थान भरिनेछ। साथै मैदानमा भार समेत जडान गरिने बताईएको छ।
अध्यक्ष पेरेजले सिजन सक्नु अघिका बाँकी खेल अभ्यास मैदानमा सञ्चालन गर्ने निर्णय गरिएको बताएका छन्। उनका अनुसार नयाँ सिजन सुरु हुनु अघि बर्नबेउ रंगशालाको पुननिर्माणको काम सम्पन्न हुनेछ।
‘हामीले घरेलु मैदानको रुपमा अल्फ्रेडो डी स्टेफानो मैदानलाई प्रयोग गर्ने निर्णय गरेका छन्।’ पेरेजले रियलका समर्थकलाई पत्र लेखेका छन्।
‘बर्नबेउ रंगशालाको पुननिर्माणको काम सक्न सो निर्णय गरिएको हो।’ उनले भनेका छन्।
पूर्व तालिका अनुसार सन् २०२२ सम्म बर्नबेउको काम सम्पन्न हुने बताएको थियो। तर पेरेजले निर्धारित समय भन्दा अगाडीनै रंगशाला पुननिर्माणको काम सम्पन्न हुन सक्ने बताएका छन्।
ला लिगा बन्द रंगशालामा जुन ११ बाट सुरु हुदैछ। कोरोना महामारीका कारण तीन महिना अबरुद्ध बनेको सिजन सुरु हुन लागेको हो।
कोरोना महामारीको समय रियलले बर्नबेउ रंगशाला औषधी उपचारको सामाग्री राख्नमा प्रयोग गर्न दिएको थियो।
ला लिगाको अबरुद्ध सिजन सेभिल्ला र रियल बेटिसको प्रतिस्पर्धाबाट सुरु हुनेछ। रियलले पहिलो खेलमा ईबरसंग आफ्नो अभ्यास मैदानमा जुन १४ मा खेल्नेछ।
मड्रिड टिमले सोही मैदानमा जुन १८ मा भ्यालेन्सियासंग खेल्नेछ। ला लिगाका बाँकी ११ चरणका खेल पाँच हप्तामा सक्ने लक्ष्य राखिएको छ।
लिगमा बार्सिलोनाले रियलसंग २ अंकको अग्रता लिएको छ। सेभिल्ला तेस्रो स्थानमा रहेको छ।
कोरोनाका कारण अबरुद्ध बनेको युरोपका शीर्ष डिभिजनको लिग पुन सुरु हुन लागेका छन्। जर्मन बुन्डेसलिगा सुरु भईसकेको छ भने ईङ्ल्याण्डको प्रिमियर लिग र ईटालीको सिरि एले समेत नयाँ मिति तोकेको छन्। एजेन्सी


























