काठमाडौं, जेष्ठ ५ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसले विश्वअर्थतन्त्रमा परेको प्रभावका कारण चालु आर्थिक बर्षको पहिलो ९ महिनामा विप्रेषण आप्रवाह चार प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकल हालै जारी गरेको चैतसम्मको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक प्रतिवेदनले यस्तो देखाएको हो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको चैतसम्ममा रु ६ खर्ब २६ अर्ब ९० करोड विप्रेषण भित्रिएको छ। गत आवको सोही अवधिमा भने विप्रेषण आप्रवाह २० दशमलव ९ प्रतिशतले बढेको थियो। राष्ट्र बैंककाअनुसार अमेरिकी डलरमा भने विप्रेषण आप्रवाह ४ दशमलव ७ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ९ दशमलव ९ प्रतिशतले बढेको थियो।
नेपालमा विप्रेषण आउने भनेकै बैदेशिक रोजगारमा गएका नेपालीबाट हो। तर, कोरोना र त्यसलाई रोक्न लगाइएको लकडाउनका कारण श्रम गन्तव्य मुलुकमा रोजगारी संकट आएको छ। साथै, त्यहाँको अर्थतन्त्र पनि खुम्चिएको छ। फलस्वरुप विप्रेषण आप्रवाह कमी आएको हो।
यस्तै, समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या १० दशमलव २ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३७ दशमलव ५ प्रतिशतले घटेको थियो।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा १५ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४.६ प्रतिशतले बढेको थियो। समीक्षा अवधिमा खुद ट्रान्सफर आयमा ४.४ प्रतिशतले कमी आई रु ७१३ अर्ब ११ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २०.९ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ।


























