चितवन । महाबौद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा ४८ लाख ४९ हजार ९३२ रुपैयाँ नाफा आर्जन गरेको छ। सोमबार तीनखोले गुम्बा परिसरमा सम्पन्न संस्थाको १३औँ वार्षिक साधारण सभामा कोषाध्यक्ष ओमप्रकाश पौडेलले प्रस्तुत गरेको प्रतिवेदनमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो।
२०७० सालमा २५ जना सदस्यबाट सुरुआत भएको सहकारीमा हाल ३,७७४ सदस्य पुगेका छन्। महिला सदस्य १,५०४, पुरुष २,०५ तथा संस्थागत २९ रहेका छन्। सदस्य संख्या गत वर्षको तुलनामा ५ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ।
हाल संस्थाको कूल सम्पत्ति २५ करोड ८७ लाख ६४ हजार ६५० रुपैयाँ पुगेको छ। गत वर्ष २ करोड ८४ लाख ७२ हजार ७२५ रुपैयाँ खर्च भएकोमा ३ करोड ३३ लाख २२ हजार ६५८ रुपैयाँ आम्दानी भएको कोषाध्यक्ष पौडेलले जानकारी दिए। यसै आधारमा आगामी वर्ष ६७ लाख ९८ हजार २८१ रुपैयाँ नाफा कमाउने लक्ष्यसहित ४ करोड ६ लाख २० हजार ३७१ रुपैयाँ आम्दानी गर्ने प्रस्ताव गरिएको छ।
यद्यपि आर्थिक वर्ष २०८१/८२ मा चुक्ता सेयर पुँजी भने ३७।४५ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष अन्त्यमा ३ करोड ४३ लाख ५ हजार ८०० रुपैयाँ रहेको चुक्ता सेयर पुँजी केही सेयर फिर्ता गर्नुपर्ने भएकाले घटेको सचिव टेकलाल भुसालले बताए। तर जगेडा कोष, अन्य कोष, बचत, नगद मौज्दात, लगानी तथा ऋण लगानीजस्ता सूचक भने सबैमा वृद्धि भएको उनको भनाइ थियो।
सचिव भुसालका अनुसार, जगेडा कोष ८ दशमलव ९७ प्रतिशत, अन्य कोष ३३२ दशमलव ८७ प्रतिशत, बचत १७ दशमलव ५५ प्रतिशत, लगानी ६ दशमलव १७ प्रतिशत र ऋण लगानी ५ दशमलव ८२ प्रतिशतले बढेको छ। नगद तथा बैंक मौज्दात पनि १७ दशमलव ७२ प्रतिशतले सुधार भएको छ।
कर्मचारीसहित ३६ जना सम्मानित
सभाको अवसरमा १४ जना कर्मचारीसहित ३६ जनालाई सम्मान गरिएको थियो। विभिन्न शीर्षकमा २० जना र उत्कृष्ट बचतकर्ता तथा ऋणी गरी थप २ जनालाई समेत सम्मान गरिएको अध्यक्ष लालबहादुर पछाई (काजी)ले जानकारी दिए। उनका अनुसार, संस्थाप्रति जिम्मेवारी वहन गर्ने सदस्य, कर्मचारी र बचतकर्तालाई प्रोत्साहन दिन हरेक वर्ष साधारण सभामा सम्मान गर्ने परम्परा बसालिएको हो।
अध्यक्ष पछाईले सहकारीलाई अझ सबल बनाउन सञ्चालक समिति, कर्मचारी र सदस्य सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै भविष्यमा बचत तथा कर्जालाई अझ बृहत्तर बनाउँदै संस्थागत पुँजी वृद्धिमा जोड दिने योजना रहेको बताए।
त्यसैगरी, उपाध्यक्ष लक्ष्मीनारायण श्रेष्ठले स्वागत मन्तव्यका क्रममा हाल वित्तीय क्षेत्रमा देखिएको तरलता अभाव क्रमशः समाधान हुँदै गएको उल्लेख गरे। सुस्ताएको बजार चलायमान बन्दै जाँदा सहकारीलगायतका वित्तीय संस्था पनि लयमा फर्किन थालेको उनको भनाइ थियो।


























