चितवन । ‘अफ्रिकन स्वाइन फिवर’ नामक घातक रोगका कारण चितवनका १२ खोरका दुई हजार ८७३ बङ्गुर मरेका छन्। भरतपुर महानगरपालिका, खैरहनी र रत्ननगर नगरपालिकासँगै इच्छाकामना गाउँपालिकामा पालिएका ती बङ्गुर मरेका हुन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवा केन्द्र भरतपुरका सूचना अधिकारी डा प्रभात न्यौपानेका अनुसार भरतपुर–३ मा तीन, रत्ननगरमा चार, इच्छाकामनामा तीन र खैरहनीमा दुई फार्ममा बङ्गुर मरेका हुन्। फिभर फैलिएपछि ती खोर पूर्णरुपमा खोर खाली भएका छन्।
फिभरका कारणमरेका बंगुरमध्ये एक हजार ९१६ वटा वयस्क र ९५७ वटा पाठापाठी छन्। जिल्लाभर बंगुर मर्दा छ करोड २२ लाख ६५ हजार रूपैयाँ बराबरको क्षति भएको विज्ञ केन्द्रले जनाएको छ।
चितवनमा गत साउनबाट यो रोगको संक्रमण देखिएको हो। अफ्रिकन स्वाइन फिभर घरपालुवा सुँगुर, बँदेल, बङ्गुरलगायतका प्रजातिमा भाइरसबाट लाग्ने उच्च मृत्युदर भएको अति खतरनाक सरुवा रोग हो। यो रोग नेपालमा पहिलो पटक विसं २०७९ जेठ २ गते काठमाडौँको एउटा बंगुर फार्ममा पुष्टि भएको थियो।
रोग सङ्क्रमित सुँगुर बङ्गुरबीच प्रत्यक्ष सम्पर्कबाट, रोगी बङ्गुरको र्याल, मलमूत्र, रगत, मासु र लसपस भएको दानापानीबाट, बिरामी बङ्गुरको ओसारपसार वा किनबेच गर्दा, सङ्क्रमित खोरमा काम गर्ने कामदार र सङ्क्रमित खोरमा गएको मानिसले प्रयोग गरेको लुगाकपडा, जुत्ताचप्पल आदि प्रयोग गर्दा सर्नसक्ने सूचना अधिकारी न्यौपानेले जानकारी दिए।
यो रोग लागेका बङ्गुर एकै ठाउँमा थुप्रिएर बस्ने, शरीरमा निला डाम देखा पर्ने, कानका टुप्पामा रगत जमेका धब्बा देखिने, नाकबाट फिँज निकाल्ने, रोग सङ्क्रमित सुँगुर बङ्गुरलाई उच्च ज्वरो (१०४ देखि १०७ डिग्री फरेनहाइट) आउने, कान, पुच्छर, पेटको तल्लो भागको बाहिरी छाला रातो हुने, झोक्राउने र दानापानी खान छोड्ने, बान्ता गर्ने, छटपटाउने, बच्चा तुहिनेजस्ता लक्षण देखा पर्ने विज्ञ केन्द्रले जनाएको छ।