चितवन । भरतपुरमा तेलहन बालीअन्तर्गत पर्ने सूर्यमुखी फूलको व्यावसायिक खेती थालिएको छ। भरतपुर महानगरपालिका–१५ श्रीपुरमा सामूहिकरुपमा प्राङ्गारिक सूर्यमुखी फूलको खेती गरिएको हो। चार किसानको अगुवाइमा पौने तीन बिघामा सूर्यमुखी खेती गरिएको चन्द्रप्रसाद अधिकारीले जानकारी दिए। उनका अनुसार कृषि ज्ञान केन्द्र चितवनसँग साढे चार बिघा जमिनमा तेलहन बालीका लागि सहकार्य भएको छ। बाँकी जग्गामा तोरी खेती गरिएको छ। ज्ञान केन्द्रले बीउ, मल र सिँचाइमा सहयोग गरेको उनले बताए।
दशवर्ष पहिले पनि आफूले जिल्लामा सूर्यमुखी खेती गरेको र बीचका केही वर्ष खेती गर्न छाडे पनि यस वर्षदेखि पुनः प्राङ्गारिक सूर्यमुखी खेती गरेको अधिकारीको भनाइ छ। ‘मैले २०३२ सालमा गाजर खेतीबाट कृषि कर्म सुरु गरेको हुँ,’ उनले भने, ‘गाजर उत्पादन धेरै भए पनि बजार मूल्य नपाउने र लगानी धेरै लाग्ने भएकाले मैले तेलहन बाली लगाएको हुँ।’
सूर्यमुखी खेती गर्दा धेरै लगानी गर्न नपर्ने भएकाले अन्य खेती गर्ने किसान यसतर्फ आकर्षित हुन थालेका छन्। यसरी प्राङ्गारिक सूर्यमुखी खेती गर्नाले किसानले राम्रो मूल्यमा उपभोक्तालाई स्वस्थकर तेल उपलब्ध गराउन सक्ने र मिसावट तेलको बजारलाई यसले नियन्त्रण गर्ने अधिकारीको भनाइ छ। ‘पछिल्लो समय फूल फुल्न थालेसँगै यहाँ टिकट शुल्क रु एक सय तिरेर दैनिक टिकटक बनाउने, फोटो खिच्ने र घुम्न तथा खेतीबाली हेर्न पर्यटक आउन थालेका छन्। उनीहरु यहाँ आउँदा आनन्द महसुस गर्छन्,’ उनले भने।
अहिले यहाँ मह उत्पादनका लागि मौरीको ६०/६५ घार पनि राखिएका छन्। कृषि ज्ञान केन्द्र चितवनकी कृषि अधिकृत सूरुचि त्रिपाठीले चितवन र मकवानपुर गरेर दुई क्षेत्रमा सय हेक्टर जमिनमा तेलहन बालीका लागि केन्द्रले सहयोग गरेको जानकारी दिइन्। उनले अरु क्षेत्रमा तेलन बालीअन्तर्गत तोरी खेती गरे पनि यहाँका किसान सूर्यमुखी खोतीमा इच्छुक भएकाले उनीहरुलाई केन्द्रले सहयोग गरेको बताइन्। यहाँका किसानले सूर्यमुखी खेती गर्दै जाँदा अन्य किसानलाई पनि प्रत्साहन मिल्ने उनको भनाइ छ। रासस