चितवन । चितवनमा पहिलोपटक चितवन फुटवेयर एक्स्पो हुँदैछ। यही फागुन १७ गतेदेखि चितवन उद्योग संघ र नेपाल जुत्ता घरको संयुक्त आयोजनामा एक्स्पो गर्न लागिएको हो। चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा एक्स्पो हुन लागेको हो। चैत १७ गतेसम्म चल्ने एक्स्पोमा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छालाजन्य वस्तु र स्वदेशमा तयार गरिएका जुत्ता चप्पल, महिला, पुरुष सबैलाई हुने जुत्ताचप्पल राखिने जुत्ता घरका अध्यक्ष होमनाथ उपाध्यायले जानकारी दिए।
विराटनगर, पोखरा, धरानलगायतका ठाउँमा एक्स्पो सम्पन्न गरी चितवनमा गरिएको उनले बताए। एक्स्पोमा १० भन्दा बढी ब्राण्डका ४० स्टलबाट एक हजार भन्दा धेरै प्रकारका जुत्ता एकै ठाउँमा पाउन सकिने उपाध्यायले जानकारी दिए। उनका अनुसार स्वदेशी उत्पादनका बारेमा आम उपभोक्तालाई स्थलगत अवलोकन गराई आफ्ना उत्पादनबारे जानकारी गराउने उद्देश्यले एक्स्पो गर्न लागिएको हो।
प्रत्यक्ष उपभोक्तासँग छलफल गर्दै काम गर्न, नेपाली उत्पादनको प्रचारप्रसार गर्दै बाह्य बजारसमेत विस्तार गर्ने उद्देश्यका साथ एक महिना लामो एक्स्पो गर्न लागिएको उनले जानकारी दिए। प्रदर्शनीमा दुई लाखले अवलोकन गर्ने र रु तीन करोडको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ। सो अवसरमा छुटको समेत व्यवस्था गरिएको उनले बताए।
हरेक वर्ष प्रदर्शनी गर्ने योजनाका साथ कार्यक्रम गरिएको उनको भनाइ थियो। पत्रकार सम्मेलनमा नेपाल फुटवेयर एसोसिएसनका अध्यक्ष नानिराज घिमिरेले नेपालमा एक हजार पाँच सय उद्योग रहेको बताए। तीमध्ये लघु उद्योग एक हजार, मझौला उद्योग दुई सय, निर्यात गर्ने उद्योग दुई सय, ठूला उद्योग एक सय छन्।
नेपालमा वार्षिक १६ करोड जोर जुत्ता उत्पादन हुँदै आएको छ। तीमध्ये नेपालको खपत १० करोड जोर रहेको उनले बताए। नेपाली जुत्ता चप्पल उद्योगमा रु ३० अर्बको लागत रहेको उनको भनाइ छ। नेपालमा उत्पादित जुत्ताले निर्यातका लागि एक दशमलव पाँच प्रतिशत हिस्सा लिएको उनले बताए।
कुल गार्हस्थ्य उत्पादनको शून्य दशमलव छ प्रतिशत योगदान पुर्याएको यस व्यवसायमा ५५ हजारले प्रत्यक्ष रोजगारी पाइरहेका छन्। तीमध्ये ६० प्रतिशत नेपाली कामदार छन्। जुत्ता उत्पादनमा पूर्ण आत्मर्निभर यस व्यवसायले भारतसहितका १८ देशमा जुत्ता निर्यात गर्ने गरेको घिमिरेले जानकारी दिए।
विदेशबाट चोरी पैठारी गरी आएका सामानका कारण ३५ देखि ४० प्रतिशत मात्रै उद्योग सञ्चालनमा आएको उनले बताए। नेपालको जुत्ता उत्पादनले ६० देखि ६५ प्रतिशत क्षेत्र ओगटेको छ। रासस