काठमाडौं, जेष्ठ २ । भारतीय सीमा नाकामा अलपत्र नेपालीलाई प्रवेश दिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ। पछिल्लो २४ घण्टामा थप हजारौं नेपाली सीमा क्षेत्रमा आइपुगेको भन्दै शुक्रबार कांग्रेसले यसकारसँग यस्तो माग गरेको हो।
‘भारत सरकारले रेल र बस मार्फतको सुविधा दिएपछि भारतको विभिन्न शहरबाट यसरी नाकामा आइपुगेका नेपालीलाई प्रवेश गराउने बारे संघीय सरकारले प्रष्ट नीति तय गरेर निर्देशन जारी नगर्दा कतिपय नाकाबाट प्रवेश गराइएको विवरण प्राप्त छ भने कयौं नाकामा प्रवेश नपाएर नेपालीहरु अलपत्र स्थितिमा छन्’, कांग्रेसले भनेको छ, ‘जोखिम रहित ढंगले प्रवेश गराउन सरकारले तत्काल गम्भीरतासाथ पहल नगर्ने हो भने एकातर्फ खाने(बस्ने कठिनाइमा हजारौं नेपाली दसगजा क्षेत्रमा थप प्रताडित हुनेछन् भने अर्कातर्फ लुकिछिपी नेपाल प्रवेश गर्ने कतिपयको प्रयत्नले कोरोनाको जोखिम झनै बढ्नेछ। अतः नाकामा आइपुगेका सबै नेपालीलाई ब्यवस्थित ढंगले प्रवेश गराउन तथा उचित क्वारेन्टाइनमा कडाइका साथ राखेर परिक्षण पश्चात् सुरक्षित रूपमा घर पुर्याउने प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारलाई आग्रह गर्दछ।’
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले लुकिछिपी प्रवेशबाट यसबीचमा संक्रमण फैलिन योगदान पुगेको परिदृश्य स्मरण गर्दै, सतर्कता र उच्च मानवीय भावना साथ सरकारले दायित्व निर्वाह गर्नुपर्ने विज्ञप्तिमा उल्लेख गरेका छन्।


























