काठमाण्डौं, माघ ४ । सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउनका लागि दुई आयोगमा पदाधिकारी सिफारिस गर्ने सम्बन्धमा शनिबार पनि छलफल भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरुबिच सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा पदाधिकारी नियुक्ति सिफारिस गर्नेबारे छलफल भइरहेको हो। शुक्रबार पनि नेताहरुबिच सोही विषयमा छलफल भएको थियो।
छलफलमा प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली, नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित नेकपाका नेता सुवासचन्द्र नेम्वाङ र खिमलाल देवकोटा सहभागी छन्।
यस्तै नेपाली कांग्रेसका तर्फबाट सभापति शेरबहादुर देउवासहित नेताहरू मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी छन्। द्वन्द्वकालीन घटनालाई निरुपण गर्न सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा सहमतिका आधारमा पदाधिकारी चयन र ती आयोगमा यसअघि परेका उजुरी तथा मुद्दाका विषयमा छलफल भइरहेको जानकारी दिइएको छ।
यसैबिच द्वन्द्व पीडित राष्ट्रिय सञ्जालले भने द्धन्द्धकालका महत्वपूर्ण सरोकारवाला पक्ष पीडितहरुलाई न्यायीक प्रकृयामा सहभागी गराई अर्थपूर्ण परामर्शबाट बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन एवं सत्य निरुपण तथा मेलमिलाप आयोगको ऐन संशोधनपछि मात्र आयोग गठन प्रकृया अगाडि बढाउनुपर्ने बताएको छ।
सञ्जालका अध्यक्ष गोपालबहादुर शाह र महासचिव सुरेन्द्र खत्रीद्वारा जारी विज्ञप्तिमा सातैवटा प्रदेशमा परार्मश कार्य अगाडि बढाइसकेको र केन्द्रमा पनि परार्मश गर्न लागेको हुँदा सरोकारवाला द्वन्द्व पीडित, नागरिक समाज र मानवअधिकारवादीहरुको व्यापक सहभागितामा अर्थपूर्ण तवरबाट परामर्श गर्न आग्रह गरिएको छ।
सिफारीस समितिले हाललाई आयोग गठन गर्ने प्रकृया यथास्थानमा राखी ऐन संशोधन पछि मात्रै आयोग गठन प्रकृया अगाडि बढाउनु पर्ने माग सञ्जालले गरेको छ।


























