काठमाडौं, जेष्ठ २ । कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले जेठ पाँच गतेपछि लक डाउनको मोडालिटी परिवर्तन गरेर जाने तयारी गरेको हो। स्वास्थ्य क्षेत्रका विज्ञहरुसँगको छलफलपछि समितिले जोखिम क्षेत्र छुट्याएर लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी गरेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण विडारीले बताए। जारी लकडाउनको समिक्षा गर्दै समितिले उच्च जोखिममा रहेको क्षेत्र, मध्यम जोखिममा रहेका क्षेत्र र न्यून जोखिममा रहेका क्षेत्रको पहिचान गरी मोडालिटी परिवर्तनको तयारी गरिएको उनले बताए।
त्यसैगरी समितिले अध्ययन वा अन्य कामको शिलशिलामा जापान र हङकङमा बस्दै आएका तर लकडाउनका कारण नेपालमै रहेका नागरिकहरुलाई चार्टड फ्लाइट मार्फत पठाउने निर्णय पनि गरेको छ। सचिव विडारीले लक डाउनका कारण जापान जानबाट रोकिएका ६ सय र हङकङको आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने निर्णय भएको बताए।
समितिले शुक्रबार स्वास्थ्य क्षेत्रका विभिन्न विज्ञहरुसँग छलफल पनि गरेको छ। अहिलेको अवस्था र लक डाउनको मोडालिटी परिवर्तन गरी कसरी जनजीवन सहज बनाउन सकिन्छ भन्ने विषयमा विज्ञहरुसँग छलफल भएको हो। छलफलमा विज्ञहरुले परीक्षण, कन्ट्रयाक्ट ट्रेसिङको दायरा बढाउनुपर्ने, क्वारेन्टाइनको व्यवस्थापन राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन्। आत्तिनुपर्ने अवस्थामा नभएपनि सचेत हुनुपर्ने, विदेशबाट आउनेहरुको सवालमा सम्बन्धित स्थानीय तहहरुमा क्वारेन्टाइनको उचित व्यवस्थान गरी ल्याउनुपर्ने सुझाव पनि दिइएको नेपाल चिकित्सक संघका अध्यक्ष लोचन कार्कीले बतए।
चिकित्सा क्षेत्रका विज्ञहरुले सरकारलाई वैज्ञानिक ढंगबाट निर्णय गर्न र सम्बन्धित क्षेत्रका व्यक्तिहरुसँग पनि सल्लाह गर्न सुझाव दिएका छन्। विज्ञहरुका सुझावहरुमा पुनः छलफल गरी समितिले निर्णय गर्ने छ।


























