सुरुवाती मानव घुमन्ते थियो। भोजन र शिकारको लागि एक स्थानबाट अर्को स्थानमा घुम्दै पुग्ने मानवले जब कृषि र पशुपालन सिक्यो तब भने स्थाई रूपमा बस्न त थाले तथापि, पशु चरणको खोज, प्राकृतिक प्रकोप र युद्धका कारण भने पुनः स्थानान्तरण हुन बाध्य भयो। तर यसै चरणमा मानिसहरूमा जातिको भेद भने उत्पन्न भयो। आर्यभन्दा धेरै अगाडिका यी प्रकृति पूजक जातिहरूबीच आफ्नो जातिलाई एक विशेष चिन्ह या लक्षणले आफ्नो जातिको परिचय दिने प्रचलन सुरु भयो। यी चिन्ह या लक्षण मुख्यतया जीवजन्तु या वनस्पतिहरू नै थिए। जातिको पहिचान गराउने जीव या वनस्पति त्यस जातिको श्रद्धा र सम्मानको चीज हुन्थ्यो। यसैलाई टोटेम भनिन्छ।
रामायणमा उल्लेखित वाली, सुुग्रिव या हनुमान बाँदर थिएनन्, अपितु उनीहरूको टोटेम वानर थियो। यसै गरेर जाम्ववान पनि भालु थिएनन्, उनको टोटेम मात्र भालु थियो। त्रिविष्टपमा आर्यका अतिरिक्त अन्य तीन जातिहरू पनि थिए, नाग, सुपर्ण (गरुड) र किराँत। यी मध्ये गरुड जाति विष्णुको नजिकका भए, यसैले विष्णुको वाहन गरुड भए अर्थात् विष्णुसँग साथै हिँड्ने रहने गरुड जाति थिए। शिवको साथमा भने नाग र किराँत जातिहरू परे। पुराणको कथा अनुसार गरुड र नागको वैमनष्यता देखिन्छ, गरूड जातिलाई ‘किराताशी’ भनिनुले किरातहरू पनि गरुडका शत्रु थिए। महाभारतको आदि पर्वमा विनताले गरुडलाई सहस्र किरातलाई भक्षण गरेर अमृत ल्याउन अह्राएको कथनले गरुड र किरात जाति बीचको वैमनस्यता स्पष्ट हुन्छ। जब कि नाग र किँरातहरू भने मिलेर बसेका देखिन्छन् शिवको गलामा नाग हुनु र शिवको गणपतिको नाम अज (बाख्रा) हुनु यसैको प्रतीक हो। दक्ष प्रजापति शिवका ससुरा भए पनि पहिले शिवका विरोधी थिए, सतीको आत्महत्या पश्चात् प्रजापति कूलको महिमा मर्दन गरेर (टाउको काटेर बोकाको टाउको जोडिदिनु यसैको प्रतीक हो) यिनलाई अजमुख अर्थात् अज जातिहरूलेझैँ शिवको जय भन्ने पक्षमा ल्याइयो। पुराणदिका कथाहरूमा उल्लेख भएका थुप्रै जातिहरूको नाम विभिन्न जीव र वनस्पतिसँग मिल्नुको मुख्य कारण टोटेम नै हौ। मुसलमानहरू सुंगुरलाई अपवित्र मान्दछन् तर सिखहरूमा भने सुंगुरको हड्डी स्पर्श गराएको भोजको भोजनलाई पवित्र बनाउने संस्कार थियो, कुनै जातिको टोटेम अन्य जातिकालाइ टयाबु पनि हुन्छ। नेपालका आठ राई मध्ये केही राईहरू बाख्राको मासु खाँदैनन् किन भने बाख्रा ती राईहरूको टोटेम हो, यस अर्थमा राईहरू किँरात भए पनि अज जातिलाई श्रद्धा गर्दथिए भन्ने ज्ञात हुन्छ। जाति भेदको प्रमुख कारण यही टोटेम थियो।
गोत्रको सुरुवात उत्तरवैदिक कालको उपज हो जुन सप्तऋषिहरूको नामबाट गरिएको देखिन्छ। यिनमा पनि शतपथ ब्राम्हण र अन्य ग्रन्थमा पृथक रूपमा सप्तऋषि भनेर उल्लेख भएका नामका आाधारमा भने यो नाम एघार पुग्छ। गोत्रमा पनि एकातिर मानव प्रवासनको छाप स्पष्ट देखिन्छ भने अर्कोतिर टोटेमको प्रभाव पनि स्पष्ट देख्न सकिन्छ। जस्तो कि गर्ग र गोतम साँढे टोटेम, ऋषभ वृषभ टोटेमसँग, अज बोकासँग, काक कौआ टोटेमको स्पष्ट प्रभाव हो। वैदिक कालमा गोत्रको कुनै अवधारणा थिएन। जुन गोत्र या ऋषिका वंशज भनेर गोत्रको बाँडफाँड भएको छ, ती ऋषिहरू पनि मानव प्रवासनका मूल स्थान र टोटेमसँग स्पष्टरूपमा जोडिएका छन्। अङ्गिरा ऋषिलाई वेद पुराणमा अग्निपुत्र भनिन्छ। अजरबैजानको यानार डैग नामक पहाडहरूमा जमिनबाट निस्किएको प्राकृतिक ग्यास परापूर्व कालदेखि बलिरहेको छ (मुक्तिनाथको ज्वालादेवी जस्तै)। फारसीहरूले यसैलाई ‘अत्तुरपटन’ अर्थात् ‘पवित्र अग्नि संरक्षित स्थान’ भन्छन्। फारसिमा एजँरको अर्थ नै आगो हो। अङ्गिरा ऋषि अग्निबाट जन्मिएका नभएर यहीँका थिए जो पछि प्रवासनका क्रममा टर्कि आए। रक्तसम्बन्धको मूल खोज्दै जाने हो भने तुर्किहरूकै वंशज हुन् हुण र मङ्गोल। आगोबाट जन्मिएका मानिने अङ्गिरा ऋषिलाई हुण र मङ्गोलहरूले आफूलाई यिनको गोत्र या वंशज मानेका छैनन्। अत्री गोत्र अजरबैजानकै अत्रीक नदीसँग जोडिएको छ भने कश्यप गोत्र कश्यप सागरको भूभागसँग। कौशिक गोत्रका विश्वामित्रको माटो कुशागार र इन्द्रलाई पनि ऋग्वेदमा कुशिक भनिएकोले यिनी पनि कुशिक वंशिय (कुश अत्यधिक हुने घाँसे मैदान)सँग जोडिन पुग्छन्।
नेपालको सन्दर्भमा नेपालीहरूले अपनाएका गोत्र भने वास्तवमा हिन्दुकरणपछिको उपज हो। जसरी कुँवरमध्ये जङ्गबहादुरले आफ्नो पुर्खालाई भारतका राणााहरूसँग जोडे त्यसरी नै थुप्रैले आफूलाई विभिन्न ऋषिहरूसँग जोडे। नेपालमा भएका विभिन्न गोत्रहरू भने स्थानबाट नै धेरै बनेका छन्। गौतम गोत्रका ब्राह्मण पनि छन् सार्की पनि छन्, थापाहरू बगाले मुगाले आदि छन्, बस्नेतहरू खप्तडी सिरुपाली छन्, यी सबै स्थानबाट आएका हुन्, गोत्र फरक फरक छ। अधिकारी ब्राम्हण क्षेत्री दुबै छन्, जात खसेर खत्री र हमाल भएका पनि छन्। नेपालमा यी जात बस्नेत, खड्का थापा, अधिकारी आदि भनेका जिम्मेवारीको आधारमा बनेका हुन्, कर्णाली इतरका पनि विभिन्न ससाना राज्यमा बनेका हुन्, यिनका मूल एकै होइन, तसर्थ पृथक गोत्रका भएका हुन्। एकै जातका क्षेत्री र मगर या ब्राम्हण र क्षेत्रीबीच पनि गोत्र पृथकता हुनुको कारण यही हो। तथापि, गोत्रका कारण एउटा फाइदा भने स्पष्ट रूपमा भएको छ। गोत्रका आधारमा ७ पुस्तासम्म सपिण्ड, १४ पुस्तासम्म समानोदक, २१ पुस्तासम्म सगोत्र र त्यसपछि बाँकी गोत्रज कहलाइन्छ। मुसलमानहरू मामाचेली फुपूचेली बिबाह गर्छन् (नेपालमा खस, ठकुरी र मगरहरूमा पनि हक लाग्ने यो प्रचलन कताकति कायमै छ)। यसो हुँदा उनीहरूमा एकातिर अनुवंशिक रोगहरू अत्यधिक सर्ने मात्र होइन एकै वंशाधार हुँदा र क्रस पोलिनेसन नहुँदा यस्ता रोगहरू क्रोनिक हुने मात्र होइन, जायजन्ममा पनि अनेक विकार उत्पन्न हुन्छ। यस आधारमा सहगोत्री परेमा सामान्यतया बिबाह नगरिने हुँदा थुप्रै अनुवांशिक रोगहरूबाट मुक्त छ।
























