चितवन, बैशाख २४ । चितवनमा लकडाउनको समयमा दैनिक गुजारा चलाउन मुस्किल परेका ४३ हजारभन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ। एक महिनाको अवधिमा जिल्लाका स्थानीय तहले ४३ हजार २३९ घरपरिवारलाई राहत वितरण गरेका हुन्। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकाले राहत वितरण गरेको छ। महानगरपालिकाले पहिलो चरणअन्तर्गत १५ हजार ३७० परिवारलाई राहत वितरण गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी ईश्वर सिम्खडाले जानकारी दिए।
त्यसपछि खैरहनी नगरपालिकाले आठ हजार १०१, राप्ती नगरपालिकाले छ हजार ५८२, रत्ननगर नगरपालिकाले पाँच हजार ७४६, कालिका नगरपालिकाले तीन हजार ७५०, माडी नगरपालिकाले दुई हजार र इच्छाकामना गाउँपालिकाले एक हजार ८९० घरपरिवारलाई राहत वितरण गरेको उनले बताए।
कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउन सरकारले लागू गरेको लकडाउनको अवधिमा दैनिक ज्याला मजदुरी गर्ने र अतिविपन्न समुदायलाई स्थानीय तहले वडा–वडाबाट राहत वितरण गरेको उनले बताए। राहतमा १५ किलो चामल, दाल, नुन र तेल वितरण गरिएको थियो। दास्रो चरणको राहत वितरणका लागि पनि स्थानीय तहले तयारी गरिरहेको उनले जानकारी दिए। रासस


























