– कृपा अधिकारी,
तिमी आमा हौ, गरिब कसरी हुन सक्छौ? म गर्भमा आउनासाथ दुनियाँलाई बाँढेर खान सिक्यौ, आफ्नो पोल्टोमा अनेकौं सामान राख्दै बच्चाहरुलाई बाँढ्दै हिँड्यौ, टुसुक्क आलीमा बसेर मुखमा एक फाँको हाल्न खोज्दा रित्तो पोल्टो हेर्दै मुस्कुराउँथ्यौ, दुनियाँको मेलापात गरेर पैसा जम्मा गर्थ्यौ, त्यही पैसाले घर, स्कुल, औषधिलगायतका सबै खर्च तिर्दै, आफ्नो खाली खुट्टामा गडेको बेलको काँडा निकाल्दै मेलामा जान्थ्यौ, ताकि आफ्नो बालबच्चा अरुले खाएको हेरेर भक्कानो फुट्ने गरि नरोऊन् भनी, अब तिमी आफैँ भन आमा तिमी गरिब कसरी भयौ?
आमा, जब म बिस्तारै ठूली हुँदै थिएँ, तिम्रो आभाष हुन थाल्यो, मेरा हजारौं प्रश्न, घरपरिवारको इच्छा सबै तिम्ले आफ्नो इच्छा बनाएकी थियौ। बिस्तारै आफ्नो खुट्टाले हिँड्न के सकेकी थिएँ, आमा मलाई तिम्रा ती कोमल हातले बिझाउन थाले, अब त मलाई स्वार्थी भन्न सिक आमा।
आमा, सबै सुतिरहेको बेला छिमेकीको घरबाट आएको टिभीको आवाजमा तिमी लुकेर नाच्थ्यौ, राति मैनबत्तीको धागो सकिँदासम्म नाच्थ्यौ, अन्धकारमा भित्तामा ठोक्किएर रुन्थ्यौ।
आमा, तिमी कोमल बोटको फूल हौ र म त्यो बोटको काँडा। तिम्लाई कसैले दुखाउन खोज्दा, त्यसलाई घोच्न सक्दिनँ भने मलाई स्वार्थी भन्न सिक आमा।
आमा, तिमी घरकी लक्ष्मी हौ, आशिर्वाद र मायाकी खानी, न कि पैसा छाप्ने मेसिन। “मसँग पैसा छैन। यो बर्ष स्कुल, कलेज हिँडेर जाउ” भन्न सिक आमा।
आज म अस्वस्थ छु। मलाई पनि मीठो खान मन छ। नयाँ बिस्तारामा पल्टिन मन छ। निद्रालाई आफ्नो साथी बनाउन मन छ। मीठो सपना देख्न मन छ। “मेरो पनि हात गोडा सुन्निन्छ। मलाई पनि रगतले छुन्छ, म नि महिनावारी हुन्छु” भन्न सिक आमा।
आमा, म कैयौं पटक तिम्ले साँझमा मेलाबाट बोकेर ल्याएको खानेकुरा खाएर निदाएकी छु। र, धेरै जसो त्यही खाने कुराको आशमा बसिरहेको हुन्छु, बेलुका तिमी घर आउनासाथ तिम्रो पोल्टो हेर्ने गर्छु। म मुस्कुराउँदै खान्छु। तिमी मलाई हेर्दै आफ्नो सबै थकान बिर्सँदै म भन्दा पनि बढी खुसी हुन्छौ। आमा कहिलेकाहीँ तिमी मेलापातमा भोक थाम्न नसकेर खाँदी हौ। बेलुका तिमी घर आउँदा म तिमीसँग झगडा गर्थेँ, रुन्थेँ। तिमी त्यति साँझमा आएर पनि घरको धन्दा गर्थेउ आमा। तर, पनि म तिमीसँग नै रिसाएर भोकै सुत्थेँ। “मलाई पनि भोक लाग्छ” भन्न सिक न आमा।
आमा, सबै सुतिरहेको बेला छिमेकीको घरबाट आएको टिभीको आवाजमा तिमी लुकेर नाच्थ्यौ, राति मैनबत्तीको धागो सकिँदासम्म नाच्थ्यौ, अन्धकारमा भित्तामा ठोक्किएर रुन्थ्यौ। “म पनि सानो–सानो कुरामा रमाउँछु” भन्न सिक न आमा।
बच्चालाई राम्रोसँग खाजाको भाडा प्याक गर्यौ, बच्चाको लुगामा एउटा पनि दाग नराखी धोइराख्यौ, जागिर खान खोज्यौ। तर बच्चाको कारणले रोकियो, केही घरमै गर्न खोज्यौ, त्यहीमा पनि सबैको टोकसो खायौ। तिमी आमा हौ, बच्चाको समय आफूबाट कसरी खोस्न सक्छौ? आमा, तिमी आफ्नो लागि जिउन कसरी सक्छौ? स्कुलमा राम्रो लुगा लगाएर आउ, अङ्ग्रेजी मिसाएर बोल्ने काम नगर, सबै कुरामा हस्, हस् मात्र भन त्यहाँ। किन यति धेरै दबाबमा बाँचेकी छौ आमा? “मलाई पनि राम्रो सुझाव दिन आउँछ” भन्न सिक न आमा।
आमा, तिमीसँग बजार जाँदा धेरै सामान देख्दा लाग्थ्यो, ‘मेरी आमाको औकात नै के छ र?’ अनी चुपचाप बस्थेँ। आमाले मलाई हेर्नुहुँदोरै’छ लुकीलुकी मेरो आँखा गडेको चिजको मूल्य सोध्दा आमा दुई चोटी लामो–लामो सास फेर्नुहुन्थ्यो, अनि खाली हात घर फर्काउँथ्यौ। मेरो आँखामा समुद्रभन्दा बढी आँसुको ताल लागेको देखेर आमा मनै मन रुनुहुन्थ्यो। आफ्नो राम्रो धोती साडीलाई रातभरिमा काटेर बजारको जामा जस्तै एकदम फिट हुने नापको, सियो धागोले रातभरीमै सिलाइदिनु हुन्थ्यो। मैले त्यो कपडा दशैँको दिनमा लगाउन पाएँ। टिका लगाएर सक्किना साथ आमाले अर्को बर्ष बहिनीलाई हुन्छ भन्दै, मधुषमा राख्दिनुभयो। म सबैजना सुतेपछी लुकेर त्यो जामा लगाउथेँ र आफूलाई सबैभन्दा ठूलो रानीको छोरी राजकुमारी सम्झन्थेँ। आमा तिमी आफूलाई अब ठूलो भव्य महलको रानी हुँ भन्न सिक।
जस्तो बच्चा चाहन्छन् म उस्तै बनेर देखाउँछु, म मेरा बच्चाबाट केही सिक्छु, उनीहरुको साथीभाइको अगाडि म उभिँदा उनीहरुको बेइज्जत नहोस्, म भन्दा बच्चा अगाडि छन्।
आमा, तिमी खोक्थ्यौ। के भयो भन्दा, खार लाग्यो भन्थ्यौ। आफू बिरामी छु कहिल्यै भन्थिनौ, आमा खार तब मात्र लाग्छ, जहाँ तेल मरमसला हालेर पकाइन्छ। आमा म सानो हुँदा तेल मरमसला कस्तो हुन्छ, कहिल्यै देखिनँ। “आज खानेकुरा छैन भोकै सुतौँ है” भन्न सिक न आमा।
एकदिन घर अगाडि बाटोमा आइसक्रिम बेच्दै आयो, आमाले फलाम र सानो धाराको टुक्रा बेचेर किन्दिनु भयो, आमालाई पनि एउटा पुग्ने आयो। आमाले माथिको क्रिम खाएर तलको कोन फाल्दिनु भो, मलाई लाग्यो मेरी आमालाई केही आउँदैन, जुन आमाबाट सबै कुरा सिकेँ, त्यही आमा देख्दा मलाई हाँसो लाग्न थाल्यो।
बिचरी त्यही आमा हामीबाट म के लगाऊँ, म के खाऊँ हामीलाई हेर्दै सिक्न थालिन्। म आमा भएर कहीँ आफ्नो बच्चाको अगाडि गलत त भइनँ? जस्तो बच्चा चाहन्छन् म उस्तै बनेर देखाउँछु, म मेरा बच्चाबाट केही सिक्छु, उनीहरुको साथीभाइको अगाडि म उभिँदा उनीहरुको बेइज्जत नहोस्, म भन्दा बच्चा अगाडि छन्। “तिमीहरुको जिन्दगी मेरो देन हो, आमाको सम्मान गर” भन्न सिक आमा।
आमा तिम्ले हाम्लाई जन्माउँदाको पीडा, अझ झन् छोरी जन्माएर सुन्न परेको बचन, तिम्रो पोलेको घाउ र दुखेको मनमा मैले मलम लगाउन सकिनँ आमा, मलाई माफ गर। तिमी जहिले भन्ने गर्थ्यौ मेरो छोरी नहोस् छोरा होस्। आजाद पन्छीजस्तो हुन पाओस्, छोरी भए डर चिन्ताको भुमरीमा बेरिएर मर्छे।
आमा, ममाथि विश्वास गर। अरुले जस्तो तिम्लाई वृद्धाश्रम लगेर छोड्ने छैन। तिम्लाई हेला गर्नेले बिर्सेछन्, छोरी पाउने आमा संसारकै धनी र भाग्यमानी हुन्छिन्। आमा सुखको महल बनाएर, तिम्ले चाबी खोल्ने लगाउने गर। हामी तिम्रो अङ्गालोमा बस्ने छौँ। “म छोरा निकाल्ने मेसिन होइन” भन्न सिक आमा।
आमा तिम्लाई घामले कैल्यै पोल्दैन अनि पानीले कहिल्यै भिजाउँदैन? हामीले प्लास्टिकको छत्री ओढेर स्कुल गएको, पर पुग्दासम्म पनि पानीमा रुज्दै हेर्थ्यौ र तिमी जहिल्यै कर्कलाको पात ओढेर पानी पँधेरो गर्थ्यौ। तैपनि तिम्लाई चिसो कहिल्यै लाग्थेन। “मलाई पनि छाताको आवश्यकता छ” भन्न सिक आमा।
मेरी आमा एकदमै झुठो बोल्छिन्, आमा जे कुरा नि मलाई मन पर्दैन भन्छिन्। जे पनि हाम्लाई खुवाउँछिन्। उनलाई केही कुराको स्वाद थाहा नै छैन र पनि हाम्लाई सबै कुराको नाम चिनाउँछिन्। के तिम्लाई थाहा छ आमा त्यो बजार को झिलिमिली? तिम्लाई के थाहा खीरको अनि कुरौनीको स्वाद? तिम्लाई के थाहा त्यो पल्लाघरे काकीले लगा’को बनारसी साडीको मूल्य?
मेरी आमाले मलाई खेलौना नदिएर म केही क्षण रुन्थेँ, तर आमा तिम्ले ती बहुमूल्य संस्कार मेरो जीवनमा नहुल्दिएको भए, म पलपल रुन्थेँ । तिम्लाई कति गाली गर्थेँ। मेरी आमाले मलाई कुनै पनि बजारमा बिक्न नसक्ने उपहार दिनुभएको छ, त्यसैले त मेरो अस्तित्व छ आमा। “मलाई कहिल्यै पुरानो नहुने उपहार दिन आउँछ” भन्न सिक आमा।
आमा तिमी सही हौ या गलत, म हरेक पल तिम्रो सामु उभिन्छु। कहिल्यै हामीबाट केही कुराको अनुमति नमाग्नु। आमा तिमीलाई भगवान बनाएर एकै ठाउँमा राख्दिनँ, तिमी मान्छे भएर बाँच्छ्यौ। आमा तिमी खुलेर गल्ती गर, खुलेर आफ्नो दुःख बाँड, खुलेर आफ्नो मनको कुरा राख्न सिक आमा।
तिमी जसरी मेरो पहिलो पाइलामा टेको बनेर उभिएकी थियौ, त्यसरी नै म तिम्रो अन्तिम साससम्म पनि सँगै हुनेछु। आमा, तिमी हाम्रो सास चल्नुको पहिलो कारण हौ। आमा तिम्रो बारेमा अझै धेरै लेख्न मन थियो, आँसु नै थामिएन।
मेरो यो लेखन सम्पूर्ण आमाहरुमा समर्पित छ, मातातीर्थ औँशीको शुभकामना। ❤️❤️❤️❤️
























