न्युशा राई ‘आश्मा’–
पहिलो पटक मैले आफैँलाई झैँ आमालाई प्रेम गरेको दिन। सालले ठ्याक्कै दसवर्ष पूरा गरेर एघार लागेकी म। महिनाले एघार पुग्न भने दुईचार महिना नै बाँकी थियो। परिवारमा दोस्रो सन्तानको रूपमा भाइको आगमन भएको दिन। मैले भगवानसँग हरबखत प्रार्थना गरिरहेकी हुन्थेँ, ताकी मेरो भाइ नै जन्मियोस्। भाइ नै जन्मिनुपर्नेमा कारण चाहिँ छिमेकी, किनकि सबैको घरमा भाइ थियो। तर मेरोमा थिएन।
प्रथम त्रैमासिक परीक्षा सकेर गर्मी बिदा मनाउन घरमा आएकी थिएँ। एकदिन अचानक आमालाई प्रसव पीडाले सतायो, मेरै आँखा अगाडि। पीडामा छट्पटिएकी आमालाई देखेर मलाई यस्तो लाग्यो कि आमाले जीवन र मृत्युबीचको सास फेरिरहनुभएको छ। मलाई एकदमै डर लाग्यो। गर्न त के नै पो सक्थेँ र मैले, डरैडरले भरिएको मन लिएर करिब दुईतीन घण्टासम्म आमाको पीडावोध मुहार र शरीरलाई एकोहोरो हेरिरहनु बाहेक।
पीडा बढ्दै गएपछि आमालाई आमालाई परिवारले अस्पताल लैजानुभयो। जुन दिन मेरी आमालाई भएको दुखाई र पीडा म आफैँले महसुस गरेँ। अनि धेरैबेरसम्म रोइरहेँ। कहिलेकाहीँ मलाई अलिअलि मात्रै टाउको दुख्दा पनि आमालाई दुःख दिने गर्थेँ। घण्टौँसम्म म आफ्नो टाउको सुमसुम्याउन लगाउँथेँ, आमाले पनि मैले भनेजस्तै गरिनिदुहुन्थ्यो। अनि मलाई आनन्द महसुस हुन्थ्यो। तर मेरी आमाले प्रसव पीडामा पनि ऐया समेत भन्नुभएन। त्यही दिनबाट मेरो आँखाले आमाको प्रेम, त्याग र समर्पणलाई सकेजति निकाल्न थालेकी छु। र, आजसम्म पनि नियालिरहेकी छु, कुनै दिन मौनताको बाँध फुट्छ र धैर्यताको डोरी चुडिन्छ भनेर। अनुभूति हुन थालेको छ, आमाको ओठको त्यो मीठो मुस्कानको पछाडि पनि कयौं पीडाहरू लुकेका रहेछन्।
आमाले हाँस्ने ती मुस्कान त झुठो रहेछ। केवल सन्तानको अगाडि खुसी छु भनेर देखाउनको लागि मात्र हाँस्ने रहेछ। मलाई घरिघरि याद आउँछ त्यो दिन, जुन दिन हाम्रो घरमा भाइको आगमन भयो। अझै पनि त्यो दिन सम्झिँदा कोमल मनलाई पनि तीखो काँडाले घोसरी बिझाउँछ। अनि अर्को दिन जब पहिलो पल्ट भाइलाई अस्पतालबाट घर ल्याउँदा मैले आमालाई अङ्गालो मारेर बेस्सरी रोएकी थिएँ। अनि आमाले मायालु स्वर बनाएर ‘के भयो, किन रोएकी नि मेरी छोरी महारानी?’ भनेर सोध्दा म झन् डाको छोडेर रोएकी थिएँ, सकेजतिको बल निकालेर आमाको अङ्गालोमा बेरिएर। मैले त प्रसव व्यथामा छट्पटिएकी आमाको त्यो पीडा देखेर पनि, आमाको टाउकोसम्म सुमसुम्याउने हिम्मत नआएकोले पश्चतापमा रोएँ। त्यसपछि थाहा भयो मलाई पीडामा पनि मन खोलेर रून नपाउने, प्रत्यक आमाहरूको लागि त सीमित रेखाहरू रैछन्, जुन रेखा पार गर्नु भनेको उनको अस्तित्वलाई नै टुक्राटुक्रा पार्नुजस्तै मानिँदो रै’छ। विश्वको नक्सामा खोज्यो भने नेपाल ठूलो होला, तर त्योभन्दा कयौं गुणा बढी खुम्चिएको हुँदोरहेछ आमाहरूको जिन्दगी।
त्यो दिन मैले अनुभव गरेँ, नजरबन्दमा राखिएको अपराधी भन्दा कम छैन रै’छ आमाको जीवन। जान मन लागेको ठाउँमा जान नपाउने, भनेजस्तो खान र लागाउन नपाउने, यहाँसम्म कि बिनाकाम र बिना अनुमति घरबाहिर एक पाइलासम्म पनि राख्न नपाउनु ती सब त सामन्य रहेछ आमाको लागि। केही कामले घरबाहिर गइहाले पनि समयमा घर नआइपुगे जवाफदेही बन्नुपर्ने गतिलो कारणसहित। त्यसै बेलादेखि त हो, मैले आमालाई राम्रोसँग चिन्न थालेकी, त्यसपछि न हो, त्यसपछि त हो सधैँ मेरो अगाडि मुस्कुराउने मेरो आमा, एकान्तमा कयौंपटक एक्लै बसेर रोएको दृश्य यी नयनले नियाल्न थालेकी। आजको दिनसम्म आइपुग्दा मैले आमालाई लाखौं गुनासो गरेँ, कहिले पारिवारिक कुरा लिएर त कहिले सामाजिक विषयमा बारम्बार असन्तुष्टि भएको कुरामा गुनासो गरेँ। तर एकपटक मेरी आमाले केही कुरामा गुनासो गर्नुभएको छैन।
आमाबाट मैले धेरै कुरा सिकेकी छु । घरभित्र डाको छोडेर रोएपनि बाहिर निस्कँदा ओठमा मन्द मुस्कानको साथमा ढोका खोल्नुपर्छ भन्ने पनि त मैले आमाबाट नै सिकेको हुँ। मेरो जीवनमा सबैभन्दा धेरै धन्यवादको पात्र मेरो भाइ हो। उसैको आगमन पछि त हो मैले आमालाई आफैँलाई झैँ प्रेम गर्न थालेकी, आमाले हामीलाई गर्नुभएको प्रेमको अनुभूति गर्ने थालेकी, आमाको नजिक हुन थालेकी, आफ्नै हृदय सम्झेर आमाको हेरचाह र जतन गर्न सिक्न थालेकी, आमाको पीडालाई बुझ्ने कोशिश गर्न थालेकी, आमाको त्याग र मेहनतलाई सम्मान गर्न थालेकी। परिवार र सम्बन्धको महत्त्वमा बुझ्न थालेकी। मलाई माफ गरिदिनुहोस् आमा। अझै पनि म त्यति सक्षम त भैसकेकी छुइन, कि प्रत्येक वर्ष ‘मातातीर्थ औँसी’को दिन तपाईंलाई उपहार दिन सक्ने भइसकेकी छुइन। तर, हरदम यो प्रयास गरिरहनेछु।
प्रत्येक वर्षको ३६५ दिन नै ‘मातातीर्थ औँसी’ भनेर मान्नेछु।
























