– राजु सापकोटा
केही दिनयता सामाजिक सञ्जालमा यो भिडियो भाइरल भइरहेको छ।
जहाँ दुई पात्र छन्। एक हुन्, हाम्रो दक्षिण छिमेकी मुलुक भारतको नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल र अर्का हुन्, हाम्रा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली।
यो भिडियो हेरेर गरिएका ९९ प्रतिशतभन्दा बढी कमेण्टहरुमा केजरिवालको जयजयकार गरिएका छन् भने हाम्रा प्रधानमन्त्री ओलीको कडा शब्दमा निन्दा गरिएको छ। पदिय हिसाबले कुरा गर्ने हो भने तुलना हुँदैन। एक हाम्रै देशक प्रधानमन्त्री र अर्का अर्कै देशको एक प्रदेशका मुख्यमन्त्री। तर सम्बोधनको शैलीले तल्लो ओहदाको भए पनि दुईजनाले एउटै विषयमा वक्तव्य दिएका कारण यी दुईबीच तुलना शुरू भयो।
कुरो गरौं हाम्रै देशका प्रधानमन्त्रीबारे आएका टिप्पणीको। ओलीबारे आएका टिप्पणी के जायज छन्? जायज छन् भने किन?
टिप्पणीमा टिप्पणी:
आफ्नै प्रधान्मन्त्रीका लागि गरिएका यस्ता टिप्पणी त्यति प्रिय लाग्दैनन्। तर यसलाई होइन भन्न सक्ने ठाउँ पनि देखिँदैन। प्रधानमन्त्रीका अति नजिक रहेकाहरूले यी टिप्पणीमा कुनै दम नदेख्लान्। तर वास्तविकता न लुक्छ, न झुक्छ। लकडाउनका बेला कहाँ, कता के भइरहेको छ? यसबारे सत्य–तथ्य बाहिर ल्याउँदा देशको अभिभावकको टाउको नदुख्नुपर्ने हो। दुख्यो।
काम अनुसार कहिले ताली पाइन्छ, कहिले गाली। यो कुरा शासकका लागि नौलो नहुनु पर्ने। जनताको काम गर्न हरदम तयार सरकारलाई पत्रकारको रफ्तारले त सहयोग पुग्नुपर्ने, जनताका आँसुले छट्पटी हुनुपर्ने, औडाहा हुनुपर्ने। तर खोई त्यो छनक अनि व्यवहार? जहाँ पुग्दैनन् रवि, त्यहाँ पुग्छन कवि भन्ने यो लोकोक्तीसँग पत्रकारको काम मेल खान्छ। जहाँ केही फरक हुन्छ त्यहाँ नै बन्छन् समाचार। कुकुरले मान्छे टोकेको भन्दा पनि मान्छेले कुकुर टोकेको घटना खोज्दै हिँड्नुपर्छ समाचारका लागि।
जनताका आँसु देखाइदिँदा बालुवाटार आतिन्छ, किन ?
यो प्रश्न नै लेख्ने मन थिएन। तर बाध्यता, सत्य यही नै हो। पत्रकारलाई बिना कुनै व्यवस्था राज्यको चौथो अंग भनिँदै आएको छ। यथार्थ यो छ कि चौथो अंगको ट्याग भिरेबापत न त पत्रकारले सोहीअनुसारको सेवा सुविधा नै पाएका छन्, न त सम्मान नै। आत्मसन्तुष्टि नै हरेक पत्रकारको एकमात्र हौसला हो।
कोही खान नपाएर समस्यामा परेको छ? उपचार नपाएर पो कोही समस्यामा छ कि? सरकारका अवयवहरुले वास्ता गरेनन् कि? यो खोज्नु हामी सबै पत्रकारको कर्म अन्तर्गतकै नियमित काम हो। राम्रो गरे राम्रै आउँछ, नराम्रो गरे नराम्राे, ‘जस्तो कर्म उस्तै फल।’
जनताको आँसु देख्दा अत्तालिने प्रधानमन्त्री केपी शर्मा ओलीज्युलाई विगत फर्केर हेर्न पनि विनम्र अनुरोध छ। भारतीय नाकाबन्दीका बेला (चुनावको मुखैमा) तत्कालीन अवस्थामा आफ्नै चट्टानी अडानको प्रशंसा कसरी भएको थियो? हरेक सञ्चारमाध्यमले कसरी मुक्तकण्ठले प्रशंसा गरेका थिए? त्यो हजुर स्वयंका लागि स्वर्णीम काल थियो। जुन आज छैन। खोजेर पनि पाइँदैन। किनकि यो संकटको समय हो। आँसु देखेर जुर्मुराउने समय हो। आँसु झार्नेहरुका घाउमा मल्हम लगाउँदै दुई वर्षपछि आउने चुनावका लागि मत संरक्षण गर्ने समय हो। खोई बुझेको?
आफ्ना केही सल्लाहकारले जस्तो भजन गाउने पत्रकारिता, जुन प्रधानमन्त्रीले चाहेका छन्। त्यो सम्भव नै छैन। पत्रकार अनि सञ्चारमाध्यम सर्वकालीन प्रतिपक्ष हुन् भन्ने सिद्धान्त पनि बालुवाटारले बिस्तारै बिर्सँदै गएको छ। अझ सबै सञ्चारमाध्यम सरकारको मुखपत्र बन्नुपर्छ भन्ने मानसिकता बढ्दै जानु त खतरनाक छँदैछ। आफू अनुकुलका समाचार मात्रै हेर्ने, सुन्ने, चौबीसै घण्टा गलत रिपोर्टिङमा रमाइरहने प्रवृत्तिले प्रधानमन्त्री मात्रै होइन, कसैको पनि भलो गर्दैन।
हिजो गोकुल बाँसकोटाको कुरा सुनेर ‘प्रधानमन्त्री वहकिए’ भने मान्छेहरुले। अहिले गोकुल पनि छैनन्। आखिर पत्रकारबारे बुझ्न प्रधानमन्त्री कस्को कुरो सुन्दैछन् त? यो मामिलामा नेकपाकै मान्छेहरु भन्छन्, ‘प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीलाई मिसगाइड गरे।’ तर यसमा पनि मेरो फरक मत छ। प्रधानमन्त्रीलाई मिसगाइड गर्न सक्ने ताकत छ कसैसँग?
सिडिओ र प्रहरीलाई भनिदिने ठेक्का कस्काे?
प्रधानमन्त्रीले पटक–पटक तितो पोखिरहे कि यी आँसु र घटना प्रायोजित हुन्। सिडिओलाई थाहा छैन, प्रहरीलाई थाहा छैन, पत्रकारलाई चाहिँ कसरी थाहा भो? अचम्म छ बा। यसलाई यसरी बुझ्ने हो ? – ‘मान्छेहरु लकडाउनले मस्त थिए, सामाजिक सञ्जालमै व्यस्त थिए। के गरेको यो देखाएर? हत्तेरिका बेला न कुबेला फेरि आलोचना सहनुपर्ने भो।’ यो बाहेक अरु के नै सोँचे होलान् र खै? बालुवाटारको त्यो बिशाल भवनसँग दुःखीको आँसु देख्ने तागत छैन, जुन पत्रकारको क्यामेरा र कलमसँग छ। जनता के गर्दैछन्? बाँचेका छन् कि मरेका छन्? खान पाएका छन् कि छैनन्? यो सबै प्रश्नको उत्तर खोज्ने र व्यवस्थापन गर्ने जिम्मा सरकारको होइन र?
यही व्यवस्थापनका लागि कर्मचारी खटाइएका छन्। ठूलो बजेट खर्च पनि भएको छ। उनीहरु के गर्दैछन्? जनताको एकएक कामबारे जानकारी दिन जनताले नै करबापत तिरेको पैसाबाट तलब नै खाएर कर्मचारी खटाइएका छन्। ति के गर्दैछन्? तिनले समेत नगरेका, गर्न नसकेका कुरा पत्रकारले गरेर बाहिर ल्याइदिएका छन्। यसको लागि त पत्रकारलाई धन्यबाद् दिनुपर्ने होइन र?
अन्त्यमा, पत्रकारका सवालमा छिकेमी देशको एउटा मुख्यमन्त्रीको जति पनि उदारता हाम्रा प्रधानमन्त्रीमा नदेखिनु अति दुःखद छ। यस्यो व्यवहारले हामीला उर्जा थप्ने गुञ्जायस नै रहन्न।
(एक दशकयता चितवनमा रहेर पत्रकारिता गर्दै आएका लेखक राजु सापकोटा नेपाल पत्रकार महासंघ चितवन शाखाका कार्यसमिति सदस्य हुनुहुन्छ।)
































