सुर्खेत, बैशाख ११ । लकडाउन लम्बिँदा यहाँका कृषकले खेतीबालीको काम गर्न पाएका छैनन्। लकडाउनले मल, बीउ, औजारलगायतका कृषि सामग्रीको ढुवानी हुन नपाउँदा कृषकलाई खेतीबालीको तयारी गर्न समस्या भएको हो।
सरकारले कोरोना भाइरसको सङ्क्रमण रोकथाम गर्न एक महिनादेखि लकडाउन गरेको छ, जसले गर्दा एग्रोभेट सेन्टर बन्द हुनुका साथै कृषिजन्य सामग्री ढुवानी र खेतीबालीका अन्य काम प्रभावित भएका छन्। स्थानीय प्रशासनले बीउबिजन, मलखाद पसललाई अत्यावश्यकीय सेवामा समावेश नगर्दा किसानलाई सेवा गर्न नसकेको व्यवसायीले गुनासो पोखेका छन्।
“यतिबेला बर्खेबाली लगाउने बेला हो, पसल बन्द गर्नुपरेको छ”, वीरेन्द्रनगर जुम्ला रोडस्थित समृद्धि एग्रोभेटका सञ्चालक यामप्रसाद शर्माले भने “कृषकले न तरकारी लगाउन पाएका छन् न त धानको ब्याड नै राख्न सुरसार गरेका छन्।” लकडाउनले गर्दा ताजा तरकारीका साथै धान उत्पादनमा भारी गिरावट आउने उनको चिन्ता छ। मल, बीउ नपाउँदा नयाँ बाली लगाउन ढिलाइ भएको छ। प्रशासनले एग्रोभेट सञ्चालन गर्न नदिँदा किसानले करेसाबारी, खेतीबालीमा काम गर्न सकेका छैनन्।
वीरेन्द्रनगर नगरपालिका–१० का कृषक रत्ना बिसीले बीउ नपाएका कारण जग्गा बाँझो राख्नुपर्ने पीर बढेको बताए। “खेतमा लगाएको गहुँ काटेर सकियो, तरकारी खेती लगाइसक्नुपर्ने हो”, उनले भने, “मकै तथा तरकारी बाली लगाउन जमिन तयार गरेको धेरै समय भइसक्यो, मल र बीउ नपाउँदा त्यत्तिकै रोकियो।” सरकारले लकडाउनमै मल र बीउको सहज उपलब्ध गराउन अझै ढिला गरे उत्पादनमा निकै कमी आउने कृषक बिसीको चिन्ता छ।
सुर्खेत उपत्यकाको दक्षिणी भेग धान र तरकारी उत्पादन हुने क्षेत्र हो। यहाँ उत्पादित धान र तरकारीले यहाँको आपूर्ति व्यवस्थापनमा ठूलो सहयोग पुर्याएको कृषि क्षेत्रका सरोकारवालाले दाबी गर्दै आएका छन्। रासस


























