काठमाडौं, बैशाख १० । सरकारले दल विभाजन तथा संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि आन्तरिक विवादको उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै अध्यक्षले पार्टीका सांसदहरुसँग छलफल थालेका छन्।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान ११ बजेदेखि नेकपाका तर्फबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदसँग छलफल सुरु गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।
दुवै अध्यक्षले प्रदेशगत रुपमा नेकपा सांसदलाई बालुवाटारमा बोलाएर छलफल गरिरहेका हुन्। छलफलको सुरुवात सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदबाट भएको छ।
प्रदेशगत रुपमा काठमाडौँमा उपलब्ध दुवै संसदका सांसदसँग भिन्दा भिन्दै समयमा दुवै अध्यक्षले परामर्श गर्ने जनाइएको छ। सांसदसँगको यो छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ।


























