काठमाडौँ, १६ असोज। नेपाल टेलिकमले फोरजी एलटिइ सेवालाई विस्तार गर्दै ३७ जिल्लामा पु¥याएको छ। काठमाडौँ र पोखरामा २०७३ पुस १७ गतेदेखि सो सेवा सुरू गरेको टेलिकमले बुधबारमात्र विभिन्न ३२ जिल्लाका ५० बढी शहरमा फोरजी सेवा उपलब्ध गराएको थियो। बिहीबार थप पाँच जिल्लाका ६० शहरमा फोरजी सेवा सञ्चालनमा ल्याइएको टेलिकमका प्रवक्ता प्रतीभा वैद्यले जानकारी दिइन्।
सातै प्रदेशका प्रमुख शहरमा सो सेवा सञ्चालनमा आएको छ। प्रदेश नं १ को धनकुटा, झापा, मोरङ र सुनसरी, प्रदेश नं २ को बारा, पर्सा, रौतहट, महोत्तरी, सप्तरी, सिरहा धनुषा र सर्लाही, प्रदेश नं ३ को चितवन, धादिङ, दोलखा, काभ्रेपलाञ्चोक, मकवानपुर, नुवाकोट, रामेछाप, रसुवा र सिन्धुली रहेका छन्।
त्यस्तै गण्डकी प्रदेशको बागलुङ, म्याग्दी, तनहुँ, मुस्ताङ र लमजुङ, प्रदेश नं ५ को कपिलवस्तु, नवलपरासी, पाल्पा, पर्वत, रुपन्देही, बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशको सुर्खेत तथा सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा फोरजी सेवा सञ्चालनमा आएका छन्। ३७ जिल्लाका ६० शहरका उपभोक्ताले फोरजी सेवा उपभोग गर्न पाउनेछन्।
भीमदत्तनगर, झलारी पिप्लाडी, अत्तरिया, धनगढी, चौमाला, मसुरिया, सुख्खड, लम्की, टिकापुर, सुर्खेत, गुलरिया, कोहलपुर, नेपालगञ्ज, घोराही, लमही र तुलसीपुरमा फोरजी सेवा सञ्चालनमा आएको छ। बेनी, कुस्मा, बागलुङ, तानसेन, लुम्बिनी, भैरहवा, मङ्गलापुर, बुटवल, मुर्गिया, सुनवल, देवदह, परासी, बर्दघाट, भरतपुर, टाँडी, सौराहा, धादिङ, बिदुर, धुञ्चे, बनेपा, धुलिखेल, पनौती, हेटौंडा, सिमरा, वीरगञ्ज र कलैयामा पनि सेवा सुरू भएको छ।
चरिकोट, मन्थली, सिन्धुलीमाडी, गौर, मलङ्गवा, जलेश्वर, जनकपुर, धनकुटा, धरान, इटहरी, इनरुवा, विराटनगर, दमक, विर्तामोड, चन्द्रगढी, बेंशीशहर, भारदह र बस्तिपुरमा फोरजी सेवा सञ्चालनमा आएको टेलिकमले जनाएको छ। टेलिकमले सञ्चालनमा ल्याएको फोरजी एलटिइ सेवा नेपालमा पहिलोपटक शुभारम्भ भएको अत्यन्त तीव्र गतिको वायरलेस प्रविधि हो। नेपाल सरकारद्वारा पहिचान गरेको रुपान्तरणकारी आयोजनामध्ये नेपाल टेलिकमको यो आयोजना पनि प्रमुख रहेको छ।
प्रवक्ता वैद्यले फोरजी एलटिइ आयोजना विद्यमान फोरजी सेवाको स्तरोन्नति मात्र नभई हालसम्म सेवा उपलब्ध नभएका स्थानमा पनि दीर्घकालीन पूर्वाधारको विकास र विस्तार गर्ने तथा मुलुकका सम्पूर्ण भू–भाग र जनतालाई अत्याधुनिक दूरसञ्चार सेवाबाट सु–सज्जित गर्ने योजना भएको बताइन्।