काठमाडौं, बैशाख ९ । बालबालिकाहरूलाई लयात्मक पारामा नेपाली भाषा सिक्न सजिलो होस् भनेर नेपालयले संगीतकार तथा गीतकार आभाससँगको सहकार्यमा वर्णमाला र स्वरमालाको सांगीतिक रचना तयार पारेको छ।
ती रचना सुन्न र हेर्न ‘बाल रचना’ नामक युट्युब च्यानल पनि सञ्चालनमा ल्याइएको छ। नेपालयले गएको तिहारमा सोही च्यानलमार्फत बालबालिकाका लागि उपहारस्वरूप वर्णमाला (व्यञ्जन) सार्वजनिक गरेको थियो।
अब सोही च्यानलबाट स्वरमाला अथवा अ, आ, इ, ईलाई आधार बनाएर बनेको गीति कार्टुन सार्वजनिक हुने भएको छ। स्वरमालालाई रोचक बनाउन रचनाकार आभासले ‘अक्कलमान’ नामको चरित्र निर्माण गरेका छन्।
‘अबाट उठ्छ नाम, अक्कलमान हुँ म, अग्लो पर्खाल चढेर, अम्बा टिप्छु म’ स्वरहरूलाई चिनाउनका निम्ति हरेक स्वर-अक्षरलाई आभासले यसैगरी चार हरफका गीतमा उनेका छन्। कार्टुन चित्रसहित हेर्न, सुन्न सकिने यो गीतले बालबालिकालाई मनोरञ्जन दिनुका साथै अक्षर र शब्द ज्ञान बढाउन पनि मद्दत पुर्याउने छ।
‘बालबालिकाहरू प्राकृतिक र रिदमिक हुन्छन्, त्यसैले उनीहरूलाई भाका र तालले छिट्टै आकर्षित गर्छन् र सजिलै नयाँ कुरा सिक्छन्,’ आभासले भने, ‘त्यही महसुस गरेर मैले शैक्षिक कुरामा पनि धुन भरेको हुँ। यो संसारभरि सफल भएको सिकाउने उत्तम शैली पनि हो। हाम्रो भाषामा यस्ता रचनाहरू अझ धेरै सृजना गर्नु जरुरी छ।’
वर्णमालामा गायिकाहरू मीना निरौला र बेनुका राईले स्वर दिएका छन्। स्वरमालामा भने रचनाकार तथा संगीतकार आभासकै स्वर छ।


























