बैशाख ९ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसका कारण अस्थायी रुपमा मुलुकमा आप्रवासी रोक्ने कार्यकारी आदेशमा हस्ताक्षर गर्ने घोषणा गरेका छन्।
ट्विट गर्दै ट्रम्पले कोरोना महामारीका कारण आफ्ना नागरिकको रोजगारी नगुमोस् भन्नका लागि आप्रवासीलाई रोक्ने निर्णय लिइएको उल्लेख गरेका छन्।
उनले ‘अदृश्य शत्रुबाट भएको आक्रमण’ जसलाई भाइरस भनिएको छ भन्दै अमेरिकीहरुको रोजगारी जोगाउन आवश्यक रहेकाले आप्रवासीलाई अहिलेका लागि रोक्न आवश्यक रहेको उल्लेख गरेका छन्।
यद्यपि उनले आप्रवासीलाई अमेरिकाले कति समयका रोक्न लागेको हो र कस्ता मानिसहरु यसबाट प्रभावित हुन्छन् भन्ने विषयमा भने स्पष्ट पारेका छैनन्।
आलोचकहरुले भने ट्रम्प प्रशासनले आप्रवासनलाई रोक्न महामारीलाई प्रयोग गरेको आरोप लगाएका छन्। अमेरिका कोरोनाभाइरसबाट विश्वमा सबैभन्दा प्रभावित मुलुक हो। जहाँ अहिलेसम्म ७ लाख ८२ हजारभन्दा बढी कोरोना संक्रमित छन् भने ४१ हजार ८ सयभन्दा बढीले यसकै कारण ज्यान गुमाइसकेका छन्। एजेन्सी


























