– भोजनारायण कँडेल
‘जाबो किलो नै घाँटीमा झुण्डाए झैं गर्ने? २/३ तोला त हो नि हेर् न, यो औंठी जम्मा १ तोलाको।’ राहतको लाइनमा खासखुस सुनिदै थियो, ‘सुन् न अलि यता आइज त, अनि तैंले खोलेर आइछस् नि। अनि तैले पनि खोलेर आउनु पर्दैन त?’ यस्तैमा २२० सीसीको बाइक लिएर एक महाशय पनि आइपुग्छन् र सरासर राहतकै लाइनमा जान्छन्।
उसलाई एन ९५ मास्क र कालो चस्मा क्या सुहाएको छ भन्या। सामाजिक दुरी कायम गर्न लगाइएका ४०/५० वटा घेरा थोरै भएका थिए। त्यो घेरामा अति विपन्न पनि थिए भने सम्पन्न पनि। कोही परिचित अनुहार, कोही अपरिचित। केहीले जति बाँडिएको थियो त्यति नै लिएर हिँडे। उनीहरुको आँखामा आशा र भरोसा थियो। पल्सरवाला, सिक्रीवालालगायतकाहरु यति दिने जाबो, बरु नदिएको भए हुने, के के जाती भन्दै बर्बराइरहेका थिए। उनीहरुको आँखामा निराशा र कुण्ठामात्र थियो।
बिहान चिया र चुरोटको तालमा अनि बेलुका ह्वीस्की र ब्राण्डीको चुस्कीसँगै राहतको बिषयमा फलाक्ने कहिलेसम्म? बरु भएको बाँडेर खाऊ भन्ने यो बेलामा वास्तविक पीडितलाई थप पीडा दिने कहिलेसम्म?
यहाँ भन्न खोजिएको मानिस जति सम्पन्न भए पनि उसको सोच, व्यवहारले गरिब बनाइरहेको हुन्छ र सधैँ निराशा कुण्ठाबाहेक मनमा केही आएको हुँदैन। कोही अति विपन्न भए पनि उनीहरुमा सकारात्मक सोच र आशावादीपनले सबैमा आशा र भरोसाको दीप जगाइरहेको हुन्छ। मानव सभ्यतालाई नै चुनौती बन्दै विश्वभर फैलिएको महाविपत हाम्रो अगाडि मडारिइरहेको छ। यस्तो विषम परिस्थिति देख्दादेख्दै पनि मानवमा उब्जिएको अहङ्कारको भूतले भोलि आफैँलाई खान्छ भन्ने सोच आउन सकेको छैन। विपद्को समयमा बाँडेर खाउँ भन्ने सोच हुनुपर्नेमा भोको पेटलाई लात हानेर अन्न भण्डारण गरी रमाउने कथित सोचाइको विकसित भएको छ।
यो प्रवृत्ति सामाजिक विकासको बाधक बनेको छ। यो प्रवृत्ति कहिलेसम्म रहने हो, धेरैलाई चिन्तित बनाएको छ। कथित विपन्नको नाटक गरी लाइनमा हात बढाएर राहत नपाएको ढोल पिट्ने कहिलेसम्म? बिहान चिया र चुरोटको तालमा अनि बेलुका ह्वीस्की र ब्राण्डीको चुस्कीसँगै राहतको बिषयमा फलाक्ने कहिलेसम्म? बरु भएको बाँडेर खाऊँ भन्ने यो बेलामा वास्तविक पीडितलाई थप पीडा दिने कहिलेसम्म?
अचार खान मन लाग्यो भनेर २ वटा टमाटर बोकेर बाटोमा लखरलखर हिँड्छौं, प्रहरीको लागि लकडाउन गरिएको झैं बाटोमा प्रहरी भए नभएको हेर्छौं, बिहान बेलुका बालबच्चासहित हुल बनाएर हिड्छौं। के यो समय यही हो?
दिनभरी मोबाइल र टिभी हेर्छन्। त्यसैले हालको संक्रमणकालीन अवस्थाबारे अन्जान सायद कोही नहोलान्। युरोप, अमेरिकाजस्तो देशहरु पनि ‘हायलकायल’ हुनु परेको यथार्थ पनि सबैलाई थाहा छ। त्यहाँका जनतामा न ऐँचो पैँचो चल्छ, न घरमा चुल्हो बल्छ। आज कमायो होटलमा खायो। कल्पना गरौं त, नेपालमा झैं लकडाउन भयो भने उनीहरु कहाँ गएर के खाने बरु हाम्रो देश गरिबै भए पनि सबैको घरमा चुल्हो त बल्छ। वल्लोघर, पल्लोघर पैँचो त चल्छ। बस्, सबैले मन फराकिलो बनाउनुपर्यो।
माहामारीको कारण विश्वमा एकलाखभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्। चाइना, इटाली, स्पेन, फान्स, अमेरिकाको अवस्था सबैको मन मस्तिष्कमा छँदैछ र पनि अचार खान मन लाग्यो भनेर २ वटा टमाटर बोकेर बाटोमा लखरलखर हिँड्छौं, प्रहरीको लागि लकडाउन गरिएको झैं बाटोमा प्रहरी भए नभएको हेर्छौं, बिहान बेलुका बालबच्चासहित हुल बनाएर हिड्छौं। के यो समय यही हो? जानेर पनि अन्जान बन्दैछौं, प्रकृतिले सबै कुराको जानकारी दिएर सावधानी हुने प्रसस्त समय हामीलाई दिए पनि अनावश्यक दौडधूपमा लागेर किन कथित महान बन्न खोज्दैछौं। लिबियाका पूर्व प्रधानमन्त्रीको मृत्यु भइसकेको छ भने वेलायतका वर्तमान प्रधानमन्त्री पनि आइसियूमा भर्ना छन्। यस्ता उदाहरणहरू दखेर पनि किन हाम्रो घैँटोमा घाम लाग्न नसकेको होला? वेलायतजस्तो देशले आफ्नो प्रधानमन्त्रीलाई बचाउन के पो नगर्ला र?
विश्वलाई अहमताले विनासमात्र ल्याउँछ भन्ने सन्देश अहिलेको अवस्थाले दिएको सबैले बुझेकै छौँ। र, पनि यो स्वार्थीपन किन? कोही कथित भ्रष्ट नेता र केही आपराधिक प्रवृत्तिका व्यक्तिहरुले सबै नेपालीको प्रतिनिधित्व गर्छन् र?
हामी सर्वसाधरण त्यही पनि स्रोत साधनको कमि भएको देशका जनता। सोचौं त हामीमा त्यहाँको जस्तै महामारी आएमा भगवान् भरोसा मात्रै हो। त्यसैले समय छँदै सोचौं। हामी गरिब भए पनि सोच उच्च राखेर आशाको किरण बोकी केही समय घरभित्रै बसेर अहिलेको समस्याबाट छुटकारा पाउन सकिनेतर्फ ध्यान केन्द्रित गरौं। आशा गरौं, बरु खोले नै खाएर घरभित्रै बसेको भए हुने भन्दै पश्चाताप गर्नुपर्ने दिन नआओस्।
समग्र अवस्थालाई मध्यनजर गरी यहँ राहतकै कुरा गर्दै वास्तविक पीडितले राहत पाएका छन् त? के तपाइँ जो पेट पाल्न सक्षम हुनुहुन्छ, के चाहनुहुन्छ? यो अवस्थामा आफ्नो कारण आफूभन्दा निम्न आय भएका अर्थात् दैनिक ज्यालादारीमा काम गर्नेहरुको चुल्होमा आगो नबलोस्। अझै पनि हामीले यो समयमा बुझ्नुपर्ने कुरा बुझेनौँ भने मानवता भन्ने कहाँ रहन्छ र? विश्वलाई अहमताले विनासमात्र ल्याउँछ भन्ने सन्देश अहिलेको अवस्थाले दिएको सबैले बुझेकै छौँ। र, पनि यो स्वार्थीपन किन? कोही कथित भ्रष्ट नेता र केही आपराधिक प्रवृत्तिका व्यक्तिहरुले सबै नेपालीको प्रतिनिधित्व गर्छन् र? यो समयमा हामी नेपाली आफैंमा शासक हो भन्ने सोच राखी असन्तुलित वातावरण सन्तुलनमा ल्याउन सहयोग गर्नुपर्ने होइन र? के भोलि यो महामारी तपाईँ हाम्रो घर आगनमा नआउला भन्न सकिन्छ र? यसकारण मानव जाती सबैलाई एक परिवारको आँखाले हेरौं र सोहीअनुसार व्यवहार गरौं। बाँचौं र बचाऔं।
bhojkandel11@gmail.com
























