काठमाडौं, चैत्र २९ । नेपालमा कोरोना भाइरसबाट संक्रमितमध्ये चारजना आउँदो हप्ता डिस्चार्ज हुने बुझिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा टेकुमा उपचाररत किशोरी र धादिङका युवक अस्पताल बसेको २१ दिन पूरा हुँदैछ। सेती प्रादेशिक अस्पतालमा उपचाररत युवक र बाग्लुङकी किशोरीको पनि आउँदा हप्ता अस्पताल बसाईँ २१ दिन पूरा हुनेछ। उनीहरुको लगातार टेष्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिने तयारी भइसकेको बुझिएको छ।
किशोरीमा संक्रमण ९ चैत्रमा पत्ता लागेको थियो। उनी अस्पताल बसेको भोलि २१ दिन पुग्दैछ। दोस्रो संक्रमित ती १९ वर्षीया किशोरी फ्रान्सबाट नेपाल आएकी थिइन्। कतारको दोहा हुँदै नेपाल आएकी उनी परीक्षणका लागि टेकु अस्पताल पुगेकी थिइन्। अहिले उनी उपचार गराइरहेकी छिन्।
उनीसहित संक्रमित पत्ता लागेका तीनजना ४ चैत्रमा काठमाडौं उत्रिएको कतार एयरवेजको क्युआर ६५२ नम्बरको विमानका यात्रु थिए। सो विमानमा यात्रा गरेका तीनजना महिलाहरुलाई संक्रमण भेटिएको थियो । जसमध्ये दुईजना बाग्लुङका र एकजना काठमाडौंकी किशोरी हुन्।
तेस्रो संक्रमित ६ चैत्रमा दुबईबाट आएका थिए। वैदेशिक रोजगारीमा गएका उनी धादिङ स्थायी घर भएका ३२ वर्षीय पुरुष हुन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० चैत्रमा भर्ना भएका उनको परीक्षणको रिपोर्ट १२ चैत्रमा आउँदा संक्रमण भेटिएको थियो। संक्रमण पत्ता लागेको १७ दिन पूरा हुँदैछ। अब उनी केही दिन अस्पताल बस्नेछन् र टेष्ट नेगेटिभ आएमा डिस्चार्ज हुनेछन्।
चौंथा संक्रमित धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गराउने क्रममा संक्रमित भएको पत्ता लागेको हो। उनी ३४ वर्षका छन् र उपचार भइरहेको छ। संक्रमित व्यक्ति दुबईबाट वैदेशिक रोजगारीबाट फर्किएका हुन्।
पाचौं संक्रमित बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको थियो। उनी बाग्लुङकी हुन्। उनी पनि सामान्य भइसकेकी छिन्। किशोरी पनि आउँदो हप्ता डिस्चार्ज हुने गरी तयारी भएको छ।
छैठौं संक्रमित फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको हो। उनी पनि बाग्लुङकै हुन्। उनको अवस्था पनि सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सातौं संक्रमित भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष हुन्। उनी रोजगारीका लागि मुम्बईमा थिए। लकडाउन अगाडि नै नेपाल फर्किएको बुझिएको छ।
आठौं संक्रमित उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष हुन्। उनी पनि कामको सिलसिलामा उत्तराखण्ड पुगेको र कोरोना रोकथामका लागि लकडाउन भएपछि फर्किएका हुन्।
नवौं संक्रमित ३४ वर्षीया महिला नेपालभित्र नै रहँदै आएकी हुन्। संक्रमित ३४ वर्षीया महिला यसअघि दुबईबाट फर्किएका धनगढीका ३४ वर्षीय पुरुषका आफन्त हुन्। दुबईबाट फर्किएका ती पुरुषबाट ती महिलामा संक्रमण सरेको थियो।
संक्रमितहरुको विवरण
पहिलो संक्रमितः चीनबाट फर्केका युवकको ९ माघमा संक्रमण पत्ता लागेको थियो।
दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया किशोरीको ९ चैत्रमा पत्ता लागेको
तेस्रो संक्रमितः युएईबाट फर्किएका ३२ वर्षीय युवकको १२ चैत्रमा पत्ता लागेको
चौंथो संक्रमितः युएईबाट फर्किएका ३४ वर्षीय युवकको १४ चैत्रमा पत्ता लागेको
पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया किशोरीको १५ चैत्रमा पत्ता लागेको
छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बाग्लुङकी ६५ वर्षीया महिलाको २० चैत्रमा पत्ता लागेको
सातौं संक्रमितः भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
आठौं संक्रमितः भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुषको २२ चैत्रमा पत्ता लागेको
नवौं संक्रमितः कैलालीकी ३४ वर्षीया महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरुषको आफन्तको २२ चैत्रमा पत्ता लागेको


























