पर्वत, चेत्र २८ । लकडाउनको फाइदा उठाउँदै खाना पकाउने एलपी ग्यास बढी मूल्यमा बेचेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्वतले एक व्यवसायीलाई पक्राउ गरेको छ।
उपभोक्ताहरुको गुनासोका आधारमा प्रहरीले जलजला गाउँपालिका–३ वारिवेनीमा व्यवसाय गरी बस्ने मीनप्रसाद रेग्मीलाई बिहीबार नियन्त्रणमा लिएको हो।वारिवेनीमा सञ्चालित दिप्सन मेटल स्टोर्सका सञ्चालक रेग्मीमाथि बजार मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री गरेको उपभोक्ताको आरोप छ।
नेपाल आयल निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य एक हजार ३७५ तथा ढुवानीसहित भरी सिलिण्डरको एक हजार ४०० र आधा सिलिण्डरको ७०० रुपैयाँ तोकेको छ।
रेग्मीले एक हजार ७०० रुपैयाँ लिएर ग्यास बिक्री गरेको पाइएकाले पक्राउ गरेको प्रहरीले जनाएको छ।
पीडित उपभोक्ताले जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतमा खरिद बिल र लिखित उजुरीसहित गुनासो गरेपछि प्रहरीले व्यवसायी रेग्मीलाई निजकै पसलबाट पक्राउ गरेको हो।


























