काठमाडौं, चैत्र २६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र सामाजिक दूरी कायम गर्न अपिल गरेका छन्।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट जोगिन सरकारले लागू गरेका आदेशहरूको पालना गर्न र सामाजिक दूरी कायम गर्न सम्पूर्ण नेपालीलाई अपिल गरेका हुन्।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा सभापति देउवाले सीमापारि अलपत्र नेपालीको उद्धार गरी क्वारेन्टाइनमा राख्न सरकारलाई आग्रह पनि गरेका छन्। सरकारलाई पारदर्शी रूपमा स्वास्थ्य सामग्रीको खरिद गर्न र कति दिन लकडाउन गर्नुपर्ने हो त्यसको अध्ययन गरी अगाडि बढ्न पनि देउवाले आग्रह गरेका छन्। सरकारले आशंका लागेका सबै नागरिकको परीक्षण गर्ने व्यवस्था मिलाउन तत्काल काम गर्नुपर्नेमा देउवाको जोड थियो।
स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरूलाई समेत उच्च सतर्कता अपनाएर काम गर्न उनले आग्रह गरे। यस्तै नेपाली कांग्रेसका सम्पूर्ण सदस्य एवं कार्यकर्तालाई उच्च सतर्कताका साथ प्रचार–प्रसारमा लाग्न र जनतामा सचेतना फैलाउन निर्देशन पनि दिए।
उनले विदेशमा रहेका नेपाली नागरिकलाई उच्च सतर्कताका साथ स्वास्थ्यको ख्याल गर्नसमेत अपिल गरेका छन्। सभापति देउवाले विदेशमा कोरोना संक्रमणबाट भएको नेपालीहरूको मृत्युप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारजनमा हार्दिक समवेदना प्रकट गरेका छन्।


























