चितवन, ०४ मंसिर। नारायणी कला मन्दिरले बिहीबार नाटक ‘चरनदास चोर’ मञ्चन गर्दैछ। राजधानी बाहिर नाटकप्रति खासै दर्शक बटुल्न सकेको छैन। त्यसैले नियमित मञ्चन पुसको अन्त्यतिर गर्ने योजनासहित बिहीबार दिउँसो ४ बजे विशेष शोको लागि मञ्चन गर्ने तयारी गरिएको मला मन्दिरका अधयक्ष अमरदेव प्रधानले जानकारी दिए।
मण्डला थियटरसँगको सहकार्यमा नाटक तयार पारिएको हो। गत असोज ३१ गतेदेखि थालेको कार्यशालाबाटै एउटा नाटक तयार पारेर मञ्चन गर्ने तयारी गरिएको ‘चरनदास चोर’का निर्देशक विकाश जोशीले जानकारी दिए।
‘चरनदास चोर’ भारतको राजस्थान क्षेत्रमा प्रचलित लोक नाटक हो। विजयदान देथाले लेखेको कथालाई भारतीय लेखक हबीव तनवीरले नाट्य रुपान्तरण गरेपछि आशान्त शर्माले नेपालीमा अनुवाद गरेका थिए। नेपालमा भने आञ्चलिकरण गरेर गण्डक क्षेत्रको भाषा शैलीमा नाटकलाई प्रस्तुत गर्न लागेको निर्देशक जोशीले बताए।

चितवनमै कलाकार जन्माउन सके नाटक मञ्चनले निरन्तरता पाउने विश्वाससहित एक महिनासम्मको कार्यशालाकै क्रममा नाटक तयार पारिएको उनको भनाइ छ। नाटक तयार पार्न निर्देशक जोशीलाई अर्जुन न्यौपाने र अञ्जान ढुंगानाले सह–निर्देशकको रूपमा साथ दिएका छन्। न्यौपाने मण्डलामै कार्यरत छन् भने ढुंगाना चितवनमै बसेर नाटक गर्दै आएका छन्। साथै कर्मी नाट्य समूहले पनि नजिकबाट साथ दिएका छन्।
नाटकको लागि पुष्प श्रेष्ठले नृत्यमा र साजन जोशीले गीतमा सघाएका छन्। मण्डला थिएटरबाट विजय बराल र सोमनाथ खनालले नाटकलाई प्रभावकारी बनाउन सहयोग गरेका थिए। करिब सवा एक घण्टा लामो नाटक ‘चरनदास चोर’ले बेरोजगारीको समस्या, मानवीय प्रवृत्ति, कुलतको समस्या तथा समसामयिक विषयबस्तुलाई उठान गर्ने प्रयास गरिएको छ।