काठमाडौं, चैत्र १५ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) ले लकडाउन पछिको सृजित परिस्थितिमा सरकार गम्भीर नभएको आरोप लगाएको छ।
आज सो पार्टीका महासचिव मोहन वैद्य किरणले एक विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण देश गम्भीर मोडबाट गुज्रिरहेको उल्लेख गर्दै तत्काल राहतका कार्यक्रम ल्याउन सरकार गम्भीर नभएको आरोप लगाएका हुन्। विज्ञप्तिमा उनले महामारीले पैदा गरेको कठिन स्थिति सहज नहुँदासम्म सर्वसाधारण जनता मारमा पर्ने भएकाले तुरुन्त आर्थिक प्याकेजका कार्यक्रममा ल्याउन आग्रह गरेका छन्। त्यस्तै उनले विदेशबाट आउने नेपालीलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखी संक्रमितहरुको पहिचान गर्न समेत आग्रह गरेका छन्।
त्यस्तै उनले सरकारसमक्ष श्रमिक र आम गरिब जनताका लागि चाहिने आधारभूत आवश्यकताहरुलाई समेत तुरुन्तै सम्बोधन गर्न आग्रह गरेका छन्। उनले भनेका छन्,‘महामारीले पैदा गरेको कठिन स्थिति सहज नहुँदासम्म विभिन्न उद्योग तथा व्यवसायमा काम गर्ने मजदुरहरु, स्वरोजगारीबाट जीवन निर्वाह गर्ने श्रमिकहरु र आम गरीब तथा अशक्त जनताका आधारभूत आवश्यकता पुरा गर्नका लागि सरकारले आर्थिक प्याकेज बनाई त्यसलाई तुरुन्त कार्यान्वयनमा लैजानुपर्छ। सरकारले खाद्यान्न, ग्यास, पानी दुध, तरकारी जस्ता आधारभूत आवश्यकताका वस्तुहरुको आपूर्तिको जिम्मेवारी समेत लिनुपर्छ।’