काठमाडौं, चैत ११ । नेकपाका सांसदहरूले १५ दिनको पारिश्रमिक कोरोना भाइरस (कोभिड १९) विरुद्ध लड्न स्थापित कोषमा जम्मा गर्ने भएका छन्।
तत्काललाई नेकपाका सबै संघीय सांसद्को १५ दिनको पारिश्रमिक सरकारले स्थापना गरेको विशेष कोषमा जम्मा गर्ने निर्णय भएको प्रतिनिधि सभाअन्तर्गत नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीले जानकारी दिइन्।
उनका अनुसार नेकपा सांसदहरूले योगदान गर्ने रकम राष्ट्रिय बाणिज्य बैंक, सिंहदरबारको खाता नम्बर १९६०००००११०१ मार्फत कोषमा जम्मा हुनेछ।
नेपालमा कोरोना भाइरस प्रवेश गरिसकेको अवस्थामा यसविरुद्ध लड्न सरकारले गठन गरेको कोषमा रकम जम्मा हुने क्रम जारी छ।
नेपालमा कोरोनाको दोस्रो संक्रमित आइतवार साँझ भेटिएको थियो। फ्रान्सबाट नेपाल आएकी एक युवती कोरोना संक्रमणका कारण टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत छिन्।
कोरोना संक्रमित भेटिएपछि सरकारले १ साताका लागि सिंगो देश लकडाउन गरेको छ।