काठमाडौं, चैत्र ११ । अमेरिकी डलरको भाउले मंगलबार पनि फेरि अघिल्लो रेकर्ड ब्रेक गरेको छ। मंगलबार डलरको मूल्य अहिले सम्मकै उच्चविन्दुमा पुगेको हो।
नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ७४ पैसा र बिक्रीदर १२२ रुपैयाँ३४ पैसा निर्धारण गरेको छ। यो भाउ अहिलेसम्मकै उच्च हो। यसअघि आइतबार डलरको मूल्य अहिले सम्मकै उच्च विन्दुमा पुगेको थियो।
सोमबार न्यूनमात्रामा घटेको डलरको भाउ पुनःमंगलबार आकासिएको हो। कोरोना भाइरस संक्रमण बढ्दै जाँदा लगानीकर्ता अमेरिकी डलर सञ्चयगर्नतर्फ आकर्षित भएका हुन्। यसबाहेक अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम र सेयर मूल्य घटेको छ। तर सुन र डलर भने माथि लागेका छन्। कोरोनाको मनोवैज्ञानिक त्रासका कारण विश्व अर्थतन्त्र नै प्रभावित हुन थालेको अवस्था छ।
यस्तो बेला लगानीकर्ता डलरतर्फ आकर्षित भएका हुन्। डलरको भाउ चुलिंदा नेपाललाई फाइदा र बेफाइदा दुवै हुने अर्थ्विद्हरु बताउँछन्। विशेषगरी पर्यटन आयबाट लाभ लिन सकिन्छ। रेमिटेन्समा पनि राम्रो प्रभाव पर्छ। तर पछिल्ला दिनहरुमा कोरोनाका कारण यी दुवै क्षेत्र प्रभावित भएका छन्।